विविध

मर्निङवाकमा निस्किएका ६५ वर्षीय बाघको आक्रमणपछि मृत फेला

चितवन । भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघको आक्रमणबाट ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको छ।

बोटे मंगलबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि सम्पर्कविहीन भएपछि उनको खोजी सुरु गरिएको थियो। बिहान करिब ८ बजे उक्त क्षेत्रमा बाघ देखिएको सूचना आएपछि प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा खोजी तीव्र पारिएको थियो।

हात्तीसमेत प्रयोग गरी खोजी गर्ने क्रममा साँझ ४:२० बजे जितपुरबाट करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा बोटेको शव फेला परेको हो।

शव मंगले बोटेकै भएको उनका छोराले सनाखत गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।