अन्तराष्ट्रिय

इरान नाकाबन्दी तोड्न खोजेको कार्गो जहाजमाथि अमेरिकाले मिसाइल प्रहार

काठमाडौँ । इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकाले एउटा पानामा-झन्डा बोकेको कार्गो जहाजमाथि मिसाइल प्रहार गरेको छ।

अमेरिकी सेनाका अनुसार ‘Vela Nova’ नामको जहाजलाई पटक–पटक चेतावनी दिइएको थियो। चेतावनी बेवास्ता गरेपछि अमेरिकी नौसेनाको हेलिकोप्टरले जहाजको इन्जिनतर्फ दुईवटा हेलफायर मिसाइल प्रहार गरी त्यसलाई निष्क्रिय बनाएको हो। घटना ओमानको खाडीमा भएको बताइएको छ।

जहाजमा रहेका १७ जना चालक दलका सदस्य भने सुरक्षित रहेको र घटनामा कुनै मानवीय क्षति नभएको प्रारम्भिक विवरण छ।

इरानका बन्दरगाहतर्फ जाने–आउने व्यापारिक जहाजलाई रोक्ने अमेरिकी नाकाबन्दी कार्यान्वयनका क्रममा भएको यो पछिल्लो घटना हो। यसले अमेरिका–इरानबीच जारी तनाव थप बढ्ने संकेत गरेको छ।