सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्ने क्रममा स्कुटरको डिकी, अन्य भाग तथा कालो झोलाभित्र लुकाइराखेको अवस्थामा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकममा १ हजार दरका ३ हजार ५०० थान, ५ सय दरका ३ हजार १०८ थान, १ सय दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने करिब ५७ वर्षीय जगन्नाथ महतो कोईरी रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा महतो घाइते भएका थिए। उनको मलंगवास्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनामा प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको थियो। उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन्।
प्रहरीले बरामद रकम, स्कुटर र महतोलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।








Add Comment