सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–८ मानेश्वरमा ढुंगा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६ः५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको टिपर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनाका क्रममा टिपरमा सवार बाह्रबिसे–८ का २९ वर्षीय राजु लामा सडकतर्फ हाम फालेका थिए। त्यसलगत्तै टिपर पल्टिँदा उनी च्यापिएका थिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले लामालाई उद्धार गरी नगर अस्पताल बाह्रबिसे पुर्याएको थियो। तर उपचारका क्रममा साँझ ७ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न टिपर चालक काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।