विविध

अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा ७ जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्नुका साथै परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार झापा शिवसताक्षी नगरपालिका–१० माइधार घर भई हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने नवीन रायालाई अपरिचित ५/६ जनाको समूहले अपहरण गरी बन्धक बनाएको सूचना प्राप्त भएको थियो।

सूचना पाएपछि प्रहरीले विशेष टोली परिचालन गरी खोजी तथा उद्धार अभियान चलाएको थियो। टोलीले २०८३ साउन २८ गते साँझ करिब ६ः३० बजे काठमाडौंको नागार्जुन नगरपालिका–५ क्षेत्रबाट अपहरणमा परेका रायालाई सकुशल उद्धार गरेको कार्यालयले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेष कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदिप पोखरेल र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्यादसमेत लिइएको छ।