अन्तराष्ट्रिय

मस्कोमा युक्रेनी ड्रोन आक्रमण, एक जनाको मृत्यु; रुसद्वारा ८२२ ड्रोन खसालेको दाबी

काठमाडौं । युक्रेनले रुसको राजधानी मस्कोलगायत क्षेत्रमा गरेको ठूलो ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। यता, रुसले पनि युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ।

मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार ड्रोन एक निजी घरमा खस्दा ८३ वर्षीय वृद्धको मृत्यु भएको हो। मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानी र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन आक्रमण भएको जनाएका छन्।

रुसको रक्षा मन्त्रालयले देशभर रातभरमा ८२२ वटा युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ। तीमध्ये २०१ वटा ड्रोन मस्को क्षेत्रमै नष्ट गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यसैबीच, युक्रेनका विभिन्न क्षेत्रमा पनि रुसी आक्रमणबाट मानवीय क्षति भएको छ। क्रिभी रिहमा भएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्। राजधानी किभमा समेत ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण हुँदा कम्तीमा एक जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

रुसको सीमावर्ती रोस्तोभ क्षेत्रमा भएका ड्रोन आक्रमणमा समेत कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

यसै क्रममा रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको रुसी भएको आशंका गरिएको ड्रोनलाई NATO को हवाई गस्तीमा रहेको स्पेनी F-18 लडाकु विमानले खसालेको रोमानियाली रक्षा मन्त्रालयले जनाएको छ। उक्त ड्रोन छिमेकी मोल्डोभाबाट रोमानियाली हवाई क्षेत्रमा प्रवेश गरेको प्रारम्भिक जानकारी दिइएको छ।

युक्रेन–रुस युद्धमा पछिल्लो समय दुवै पक्षले लामो दूरीका ड्रोन तथा क्षेप्यास्त्रमार्फत एकअर्काका महत्वपूर्ण क्षेत्र र पूर्वाधारलाई निशाना बनाउँदै आएका छन्। पछिल्लो आक्रमणले युद्ध थप गहिरिँदै गएको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।