काठमाडौं । दक्षिण कोरियाले अमेरिकासँग गर्दै आएको वार्षिक संयुक्त सैन्य अभ्यासको अवधि घटाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभ्यासको आकार उल्लेख्य रूपमा घटाउन निर्देशन दिएपछि दक्षिण कोरियाले पनि अभ्यासको समय छोट्याउने निर्णय गरेको हो।
दक्षिण कोरियाली संयुक्त सेनाध्यक्षको कार्यालयका अनुसार यस वर्षको ‘उल्ची फ्रिडम शिल्ड’ सैन्य अभ्यास अब अगस्ट १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ। यसअघि यो अभ्यास अगस्ट २७ गतेसम्म चल्ने तालिका थियो।
अभ्यासको अवधि घटाउनुका साथै अमेरिका र दक्षिण कोरियाले संयुक्त रूपमा सञ्चालन गर्ने केही मैदानी सैन्य तालिमसमेत कम गर्ने भएका छन्। कुन–कुन तालिममा कटौती गर्ने भन्ने विषयमा दुवै देशबीच थप छलफल भइरहेको जनाइएको छ।
यसैबीच, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनकोसँग पुनः प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएको छ। ट्रम्पले आगामी शरद ऋतुमा किमसँग भेट गर्ने सम्भावनाबारे आफ्ना सहयोगीसँग छलफल गरिरहेको बताइएको छ।
ट्रम्प र किमबीच यसअघि सन् २०१८ मा सिंगापुरमा पहिलोपटक प्रत्यक्ष भेट भएको थियो। त्यसपछि उनीहरूबीच विभिन्न चरणमा वार्ता भए पनि उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी वार्ता ठोस सहमतिमा पुग्न सकेको छैन।
यस वर्षको संयुक्त सैन्य अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने योजना थियो। अभ्यास घटाउने अमेरिकी निर्णयले अमेरिका र दक्षिण कोरियाबीचको लामो समयदेखिको सुरक्षा सहकार्यबारे नयाँ बहससमेत सुरु भएको छ।
विश्लेषकहरूले अमेरिकाको सैन्य संलग्नता घट्दै गए दक्षिण कोरिया तथा उसका क्षेत्रीय साझेदारहरूले आफ्नै रक्षा क्षमता विस्तार गर्न र जापान, अस्ट्रेलिया तथा फिलिपिन्सजस्ता मुलुकसँग सैन्य सहकार्य थप मजबुत बनाउन सक्ने बताएका छन्।








Add Comment