विविध

शंखमुलको होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जना फरार रहेका छन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीमाथि कुटपिट तथा धारिलो हतियार प्रहार भएको थियो।

कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको अवस्था उपचारका क्रममा गम्भीर रहेको थियो।

उपचारकै क्रममा अस्पतालका चिकित्सकले कालाथोकीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएको छ। उनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ। अर्का आरोपित प्रमित पटेल भने घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।

फरार रहेका पटेलको खोजी भइरहेको छ भने घटनाको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।