मनसुन सक्रिय : देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

मनसुन सक्रिय : देशभर वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । मनसुन सक्रिय रहँदा मंगलबार देशका अधिकांश भू–भागमा मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले विभिन्न क्षेत्रमा वर्षा हुने क्रम जारी रहनेछ।

मंगलबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

तराई क्षेत्रका विभिन्न स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्र तथा मधेस र कोशीका थोरै स्थानमा वर्षाको सम्भावना छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागमा वर्षाको सम्भावना बढी रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा तथा मधेस र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न पनि महाशाखाले अनुरोध गरेको छ।

नदी तथा खोलानाला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply