विविध

नयाँ बानेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि युवकको हातपात

काठमाडौं । नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। प्रहरीका अनुसार सडकमा जथाभावी बाटो काट्न रोक्दै पैदलयात्रीलाई आकाशे पुल प्रयोग गर्न आग्रह गर्ने क्रममा विवाद उत्पन्न भएको थियो।

सोही क्रममा जुम्ला घर भएका २७ वर्षीय राज कठायतले ड्युटीमा रहेका महिला तथा पुरुष ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेको बताइएको छ। घटनापछि प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको छ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न आकाशे पुल प्रयोग गर्न निरन्तर आग्रह गर्दै आएको छ। ड्युटीमा खटिएका प्रहरीमाथि भएको आक्रमणबारे समेत प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।