विविध

लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ द्वारा बाढी पीडितहरुका लागि एक करोड राहत उपलब्ध गराउने

काठमाडौं । विश्वको सामाजिक कार्यमा अब्बल रुपमा रहेको लायन्स अन्तर्राष्ट्रिय क्लब अन्तर्गत रहेको नेपालको मल्टिपल डिष्ट्रिक्ट ३२५ ले बाढी प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न एक करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । मल्टिपल काउन्सिल चियरपर्सन लायन केशरबहादुर भण्डारीको पहलमा तत्काल राहत संकलन र वितरण गर्ने निर्णय गरिएको हो । मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।

भदौ १० गते बसेको काउन्सिल अफ गभर्नर्स बैठकले चीनको तिब्बत क्षेत्रबाट आएको लेदो सहितको ठूलो बाढीका कारण रसुवाको टिमुरे, नुवाकोटको त्रिशुली हुँदै मुग्लिङसम्मका तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको निष्कर्ष निकाल्दै तत्काल उद्धार र राहतका लागि आर्थिक सहयोग जुटाउने निर्णय गरेको हो ।

निर्णयअनुसार प्रत्येक डिष्ट्रिक्टबाट न्यूनतम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँका दरले रकम संकलन गरी कुल १ करोड रुपैयाँ मल्टिपल डिष्ट्रिक्टमार्फत राहत कार्यमा परिचालन गरिनेछ । सोही निर्णयअनुसार डिस्ट्रिक्ट ३२५ एफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ मल्टिपल डिष्ट्रिक्ट ३२५ को खातामा जम्मा गरिसकेको छ ।

काउन्सिलका प्रमुख प्रशासक प्रद्युम्न पोखरेलका अनुसार आजैदेखि विभिन्न डिष्ट्रिक्टहरूबाट उक्त रकम संकलन सुरु भइसकेको छ । संकलित रकम मल्टिपल डिष्ट्रिक्टको समन्वयमा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खर्च गरिने जनाइएको छ । मल्टिपल ३२५ ले नेपाल ईनभेष्ट वैङ्कको निम्न खातामा रकम जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।