विविध

भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम कायमै, उच्च सतर्कता अपनाउन आग्रह

रसुवा । भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम कायमै रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ताल बनेको जानकारी प्राप्त भएको छ। उक्त ताललाई थुनेको प्राकृतिक बाँध पुनः फुट्न सक्ने सम्भावना रहेकाले ठूलो बाढी आउन सक्ने जोखिम रहेको जनाइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित निकायले नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान तथा अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

नदीको बहाव र सम्भावित जोखिमलाई निरन्तर निगरानी गरिएकाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना पालना गर्न सबैमा अनुरोध गरिएको छ।