तिब्बतमा उद्धार कार्य स्थगित, पहिरोपछि बनेको ताल फुटेर थप बाढी आउने जोखिम

तिब्बतमा उद्धार कार्य स्थगित, पहिरोपछि बनेको ताल फुटेर थप बाढी आउने जोखिम

काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको पहिरोपछि तिब्बततर्फ जारी खोज तथा उद्धार कार्य अस्थायी रूपमा स्थगित गरिएको छ। पहिरोका कारण बनेको ताल फुटेर थप बाढी आउन सक्ने जोखिम बढेपछि उद्धार कार्य रोकिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपाल र तिब्बतबीचको स्थल सीमा रहेको जिरोङ बन्दरगाह (Gyriong Port) आसपासको क्षेत्रमा बुधबार पहिरोसँगै आएको ठूलो लेदो र पानीको बहावले व्यापक क्षति पुर्‍याएको थियो।

अधिकारीहरूले पहिरोको भग्नावशेषले थुनिएको क्षेत्रमा बनेको तालको जलस्तर निरन्तर निगरानी गरिरहेका छन्। पछिल्ला घण्टामा परेको भारी वर्षापछि तालको पानीको सतह बढ्दै गएपछि आगामी दिनमा बाँध फुट्न सक्ने र थप बाढी आउन सक्ने चिन्ता बढेको बताइएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धारकर्मीलाई तत्कालका लागि खोज तथा उद्धार अभियान रोक्न निर्देशन दिइएको जनाइएको छ।

तिब्बततर्फ हालसम्म ५५० जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ।

बेपत्ता हुने विदेशी नागरिकमध्ये पवित्र कैलाश पर्वतको तीर्थयात्रामा रहेका तीर्थयात्रीसमेत रहेको जनाइएको छ।

सम्बन्धित निकायले मौसम र पहिरोपछि बनेको तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। ताल फुट्ने सम्भावित जोखिमका कारण नेपालतर्फका तटीय क्षेत्रमा समेत थप सतर्कता आवश्यक हुन सक्ने देखिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply