विविध

बाढीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा थप क्षति, उद्धार र उपकरण निकाल्ने तयारी तीव्र

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभर निरन्तर जारी राखेको थियो।

तर, आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेपछि आयोजनाको किनार तीव्र रूपमा कटान हुन थालेको छ।

बाढीका कारण उत्पन्न जोखिमबीच सरकारले आयोजना क्षेत्रको समग्र अवस्था र सम्भावित क्षतिको स्थलगत अवलोकन गर्दै माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण परिचालन गर्ने तयारी गरेको छ।

यसैबीच, पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायत महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी पनि भइरहेको छ।

सडक पहुँच अवरुद्ध रहेकाले पुरिएको भवननजिकै हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ टोली उतारेर उपकरण निकाल्ने योजना बनाइएको छ।

बाढी र पहिरोका कारण आयोजनास्थलको अवस्था अझै जोखिमपूर्ण रहेकाले उद्धार तथा क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ काम भइरहेको छ।