रसुवा । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि आज रातभर उत्खनन कार्य निरन्तर सञ्चालन गरिने भएको छ।
उत्खननसँगै सुरुङभित्र भेन्टिलेसनको व्यवस्था गर्ने तथा अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा अघि बढाइने उद्धार योजनामा उल्लेख छ।
उद्धार टोलीले घस्रिएर जान सकिने ‘क्रल–थ्रु’ मार्ग (Passage) निर्माण गर्ने योजना बनाएको छ। उक्त मार्ग हुँदै सुरुङभित्र प्रवेश गरी स्ल्याबको माथिबाट अगाडि बढ्दै डक्टको माथिल्लो भागसम्म पुगेर सुरुङभित्रको अवस्थाबारे निरीक्षण गर्ने तयारी गरिएको छ।
यदि यसरी उद्धारका लागि सुरक्षित पहुँच बनाउन सम्भव नभएमा भोलि बिहान सबेरै नेपाली सेनाले नियन्त्रित ब्लास्टिङ (Controlled Blasting) गर्ने वैकल्पिक योजना रहेको जनाइएको छ।
यसअघि उद्धार टोलीले सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाएर अक्सिजन पठाउने प्रयाससमेत अघि बढाएको थियो। प्रतिकूल अवस्था र सुरुङभित्र थुप्रिएको लेदो तथा भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।








Add Comment