काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आजदेखि दुई नयाँ फिल्मले दर्शकमाझ आफ्नो यात्रा सुरु गरेका छन्। ‘पेन्सन पट्टा’ र ‘बेहुली’ आज भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका हुन्।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ र पशुपति राईलगायत कलाकारको अभिनय छ। फिल्मले पेन्सनसँग जोडिएको पारिवारिक सम्बन्ध र जीवनका उतारचढावलाई कथाको आधार बनाएको छ।
यस्तै, शासन कँडेलको निर्देशनमा बनेको ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँलगायत कलाकारको अभिनय रहेको छ।
तीजको छेकोमा रिलिज भएका यी दुई नेपाली फिल्मले नेपाली दर्शकलाई हलतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। दुवै फिल्म एउटै मितिमा प्रदर्शनमा आएसँगै बक्स अफिसमा कुन फिल्मले बढी दर्शक तान्छ भन्ने चासोसमेत बढेको छ।
यससँगै आजदेखि नेपालमा केही विदेशी चलचित्र पनि प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ भने ‘पेन्सन पट्टा’ र ‘बेहुली’ मुख्य प्रतिस्पर्धामा देखिएका छन्।








Add Comment