बाँके । नेपालगञ्जको एक होटलबाट प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा प्रहरीले गरेको कारबाहीका क्रममा ८०८ ग्राम खैरो हेरोइन बरामद भएको हो । भारतबाट लागुऔषध ल्याएर नेपालका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बहराइच जिल्लाका २१ वर्षीय रिजवान अहमद इदरीशी, १८ वर्षीय माज अहमद र २६ वर्षीय रफत खान रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनसँगै भारतीय नम्बर प्लेट UP32FH2679 भएको एउटा स्कुटर र दुई थान मोबाइल फोनसमेत बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।