रौतहटमा बिहानै भएको दुर्घटनाले लियो बालकको ज्यान, चालक भने फरार

रौतहटमा बिहानै भएको दुर्घटनाले लियो बालकको ज्यान, चालक भने फरार

रौतहट । गढीमाई नगरपालिका–७ धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ९ः१५ बजे धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरा रितिक यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करपछि टाउकोमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि गरुडा स्थित बेटर नेपाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान १०ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि ट्याक्टर चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएको प्रहरीले जनाएको छ । चालकको पहिचान खुलेको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धरमपुरबाट प्रहरी सहायक निरीक्षक कृष्णमोहनप्रसाद गुप्ताको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा SOCO सहितको टोलीसमेत परिचालन गरिएको छ ।

प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply