उडानकै बीच ककपिटमा पाइलटमाथि चक्कु प्रहार, फ्लाइदुबईको विमान साउदीतर्फ मोडियो

उडानकै बीच ककपिटमा पाइलटमाथि चक्कु प्रहार, फ्लाइदुबईको विमान साउदीतर्फ मोडियो

काठमाडौँ । दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाइदुबईको यात्रुवाहक विमानमा अप्रत्याशित घटना भएपछि साउदी अरबमा आपत्कालीन अवतरण गरिएको छ । उडानकै क्रममा ककपिटभित्र एक पाइलटले अर्का पाइलटमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

घटनापछि विमानको उडान प्रभावित बनेको थियो । ककपिटभित्रको अवस्था नियन्त्रणबाहिर जान थालेपछि एक यात्रु र चालक दलका सदस्यले हस्तक्षेप गर्दै ककपिटमा प्रवेश गरी आक्रमणमा संलग्न पाइलटलाई नियन्त्रणमा लिएको बताइएको छ । त्यसपछि अर्का पाइलटले विमानको नियन्त्रण सम्हालेका थिए ।

घटनामा संलग्न पाइलटलाई साउदी अरबमा पक्राउ गरिएको जनाइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रारम्भिक अनुसन्धानले एक पाइलटले अर्का पाइलटमाथि आक्रमण गरी विमान दुर्घटनातर्फ लैजान खोजेको देखाएको बताएका छन् ।

इजरायलका रक्षामन्त्रीले भने घटनालाई सम्भावित ‘जिहादी आतंकवादी हमलाको प्रयास’का रूपमा समेत हेर्न सकिने बताएका छन् । यद्यपि घटनाको वास्तविक कारण र पाइलटको उद्देश्यबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटरेडार २४ का अनुसार फ्लाइदुबईको एफजेड १०७३ नम्बरको विमानले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको करिब दुई घण्टापछि आपत्कालीन संकेत पठाएको थियो । केही समयका लागि विमान अपहरणको संकेतसमेत सक्रिय गरिएको थियो । त्यसपछि उक्त संकेत पुनः सामान्य आपत्कालीन अवस्थामा परिवर्तन गरिएको थियो ।

तेल अभिभस्थित बेन-गुरियन विमानस्थलमा अवतरण गर्ने तालिका रहेको विमानमा करिब १५० जना यात्रु तथा चालक दलका सदस्य सवार रहेको बताइएको छ । ककपिटभित्रको घटनापछि विमानलाई निर्धारित गन्तव्यतर्फ लैजानुको सट्टा उत्तरपूर्वी साउदी अरबस्थित तबुक विमानस्थलतर्फ मोडिएको थियो ।

उडानको तथ्याङ्कअनुसार विमानले घटनाकै बीचमा छोटो समयमै ठूलो उचाइ गुमाएको थियो । करिब दुई मिनेटभन्दा कम अवधिमा विमान झन्डै १७ हजार फिट अर्थात् ५ हजार मिटरभन्दा बढी तल झरेको देखिएको छ । केही समय जोर्डनको हवाई क्षेत्रमा पुगेपछि विमान पुनः साउदी अरबतर्फ फर्काइएको थियो ।

विमान अपहरणको सम्भावना देखिएपछि इजरायली वायुसेनाले समेत लडाकु विमान परिचालन गरेको बताइएको छ । घटनाबारे इजरायली प्रधानमन्त्री र रक्षामन्त्रीबीच आपत्कालीन छलफलसमेत भएको थियो ।

फ्लाइदुबईले विमानको फ्लाइट डेकमा घटना भएको पुष्टि गर्दै चालक दलले परिस्थितिलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । एयरलाइन्सका अनुसार विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहूले अवस्था नियन्त्रणमा रहेको बताउँदै साउदी अरबमा रहेका यात्रुलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply