अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा समस्या, हजारौँ उडान प्रभावित

अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा समस्या, हजारौँ उडान प्रभावित

काठमाडौं । अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा प्राविधिक खराबी देखिएपछि देशभरका हवाई उडान प्रभावित भएका छन्। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडानमा रोक लगाएपछि करिब ७ हजार उडान ढिला भएका छन् भने केही उडान रद्द गरिएका छन्।

प्राविधिक समस्याका कारण न्यूयोर्क, वासिङ्टन र क्यालिफोर्नियालगायत विभिन्न स्थानका विमानस्थलमा हजारौँ यात्रु प्रभावित भएका छन्।

अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार देशका २२ वटा हवाई यातायात नियन्त्रण केन्द्रमा सञ्चार प्रणालीसम्बन्धी समस्या देखिएको थियो। समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको उनले बताएका छन्।

सुरुमा शिकागोका ओहेर र मिडवे विमानस्थलमा सञ्चार प्रणालीमा खराबी देखिएपछि उडान प्रभावित भएका थिए। त्यसपछि अन्य हवाई यातायात नियन्त्रण केन्द्रमा समेत समस्या देखिन थालेपछि देशव्यापी रूपमा उडान रोक्ने निर्णय गरिएको थियो।

उडान रोक्ने आदेश जारी भए पनि आकाशमा उडिरहेका विमानलाई अवतरण गर्न अनुमति दिइएको थियो। तर विमानस्थलमा रहेका विमानलाई भने उडान भर्न रोक लगाइएको थियो। विदेशबाट अमेरिकातर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा छुट्टाछुट्टै निर्णय गरिने जनाइएको थियो।

यसैबीच, अमेरिकी होमल्याण्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले हवाई यातायात नियन्त्रण प्रणालीमा देखिएको समस्यापछि साइबर आक्रमण भएको कुनै संकेत नभेटिएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक अनुसन्धानले दूरसञ्चार प्रणालीमा आएको प्राविधिक खराबीका कारण समस्या उत्पन्न भएको देखाएको जानकारी दिएका हुन्। यद्यपि, समस्याको वास्तविक कारण अझै पहिचान हुन सकेको छैन।

एफएएले अर्को सूचना जारी नभएसम्म उडान रोकसम्बन्धी आदेश कायम रहने जनाएको थियो। सञ्चार प्रणालीको खराबी नयाँ कृत्रिम बौद्धिकता (एआई) प्रणालीसँग सम्बन्धित छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ।

अमेरिकाले पुरानो हवाई यातायात नियन्त्रण प्रविधिलाई आधुनिक बनाउने परियोजना अघि बढाइरहेको छ। यसअन्तर्गत पुराना तार विस्थापन गरी अप्टिकल फाइबर जडान गर्ने र रेडियो प्रणाली परिवर्तन गर्ने काम भइरहेको छ। उक्त परियोजनाका लागि गत वर्ष १२ अर्ब ५० करोड अमेरिकी डलर बजेट स्वीकृत गरिएको थियो।

उडान रोक्ने आदेश जारी भएको केही समयपछि हवाई यातायात नियन्त्रणसम्बन्धी सूचना सार्वजनिक गर्ने एफएएको वेबसाइटमा समेत समस्या देखिएको थियो।

अमेरिकामा यसअघि सन् २००१ सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणपछि देशभरका विमानलाई अवतरण गराउने आदेश दिइएको थियो। त्यस्तै, सन् २०२३ जनवरी ११ मा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा करिब ९० मिनेटसम्म देशभरका उडान प्रभावित भएका थिए।

गत सेप्टेम्बरमा पनि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा सञ्चार प्रणालीमा समस्या आउँदा सयौँ उडान प्रभावित भएका थिए। तर उक्त समस्या देशव्यापी रूपमा फैलिएको थिएन।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply