काठमाडौँ । म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नयाँ मिति र लेबल राखेर बिक्री वितरण गरेको आरोपमा काठमाडौँको चन्द्रागिरिबाट दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित सिद्धि विनायक खाद्य स्टोरमा अनुगमन गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त स्टोरमा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री भइरहेको भन्ने सूचना प्राप्त भएपछि संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा बारा प्रसौनी गाउँपालिका–१ घर भई हाल तीनथानामा बस्दै आएका ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दवासिनी गाउँपालिका–२ बहुअरुवा भाठा घर भई हाल तीनथानामा बस्दै आएका ४९ वर्षीय अखिलेस प्रसाद कलवारलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट मिति राख्ने मेसिन, विभिन्न खाद्य सामग्रीका नाममा प्रयोग हुने लेबलिङ स्टिकर तथा म्याद गुज्रिएका खाद्य सामग्री बरामद गरेको जनाएको छ।
बरामद सामग्रीमा ‘Makawanpuri Rajma’, ‘Abir/Keshari’, ‘Brazilian Popcorn’, ‘Local Khariro Till’, ‘Okhar’, ‘Kerau’ लगायतका लेबलिङ स्टिकर रहेका छन्। त्यस्तै म्याद गुज्रिएको काजु एक बाल्टी, पेस्ता र आल्मन्ड एक–एक कार्टुन, कालो भटमास चार बोरा, मकै दुई बोरा तथा हरियो केराउ एक बोरा बरामद भएको प्रहरीले जनाएको छ।
टोलीले बोरा सिलाउने मेसिन, ल्यापटप र प्रिन्टरसमेत नियन्त्रणमा लिएको छ।
घटनामा पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।