नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर बिनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार ट्याक्टर चालक स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले नियन्त्रण गुमाउँदा सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर ट्याक्टर सडकबाट तल खसेको थियो। दुर्घटनामा घाइते भएका मगरलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएको थियो।
अस्पताल पुर्याइएका मगरलाई बिहान ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।