काठमाडौं । बिहान ८ बजेसम्मको विवरणअनुसार देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। कतिपय सडकमा भने सवारीसाधन नियमित रूपमा चलिरहेका छन्।
उपलब्ध विवरणअनुसार काठमाडौं–गजुरी सडक खण्ड गजुरीतर्फ बन्द छ। गजुरी–मुग्लिङ खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने मुग्लिङ–नारायणगढ सडक खुला रहेको छ।
काठमाडौं–काभ्रे–सिन्धुली सडक रोशीखोलामा बन्द छ। काठमाडौं–कुलेखानी–हेटौँडा सडक खुला रहे पनि यस खण्डमा अत्यधिक ट्राफिक जाम रहेको छ। ललितपुर–टीकाभैरव–हेटौँडा सडक खण्डसमेत बन्द रहेको विवरणमा उल्लेख छ।
मुग्लिङ–पोखरा–कुश्मा, नारायणगढ–बुटवल र बुटवल–पाल्पा सडक खण्डमा यातायात सञ्चालन भइरहेको छ। बेनी–जोमसोम सडक भने बन्द छ। सिन्धुपाल्चोक–दोलखा सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
पूर्वी तथा तराईका अधिकांश मुख्य सडक खुला छन्। हेटौँडा–पथलैया–जनकपुर, पथलैया–सिमरा–वीरगञ्ज, बर्दिबास–कोशी ब्यारेज–इटहरी, इटहरी–दमक–काँकडभिट्टा र विराटनगर–इटहरी–धरान सडक खण्डमा यातायात सञ्चालन भइरहेको छ।
त्यस्तै, नेपालगञ्ज–कोहलपुर–सुर्खेत तथा बुटवल–नेपालगञ्ज–धनगढी सडक खण्ड पनि खुला रहेको विवरणमा उल्लेख छ।
यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा सुरु गर्न तथा बन्द र एकतर्फी सडक खण्डमा सावधानी अपनाउन यात्रु र चालकलाई आग्रह गरिन्छ।