वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडक एकतर्फी सञ्चालन

वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडक एकतर्फी सञ्चालन

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले कात्तिक १५ गते बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द रहेको र केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ।

प्रहरीका अनुसार ललितपुरको बल्खुस्थित सुन्दरीघाटमा पहिरोका कारण कान्तिलोकपथ र बागमती करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेसीमा अविरल वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ मा बाढीका कारण सोतिदेखि मान्बु जाने पुलमा अवरोध भएको छ। मुस्ताङको जोमसोमस्थित पर्यटक चेकपोस्टभन्दा करिब एक किलोमिटर अगाडि पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेमा भने सोही सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी करिडोर र सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा छन्।

प्रहरीले अवरुद्ध सडकमा यात्रा गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायबाट अद्यावधिक सूचना लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply