काठमाडौं । बाढी तथा पहिरोका कारण विभिन्न जिल्लाका तीन स्थानमा सडक तथा पुलमा अवरोध सिर्जना भएको छ। नेपाल प्रहरीले २०८३ कात्तिक १८ गते बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै दुई स्थानमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको र एक स्थानमा पूर्ण अवरोध रहेको जनाएको छ।
प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुलमा गत असोज २५ गते बिहानदेखि बाढीका कारण पूर्ण रूपमा आवागमन अवरुद्ध छ।
त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–२ रोक्सेमा कात्तिक १७ गते साँझ पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १४ गते बिहान पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सडक तथा पुलको अवस्थाबारे जानकारी राख्न र यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो अवस्थाबारे बुझ्न आग्रह गरेको छ।