काठमाडौं । तिहार नजिकिँदै गर्दा नागार्जुन–२, ठूलोभर्याङस्थित इन्टरनेशनल पिस एकेडेमीमा विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा र सामूहिक सहभागिता झल्किने गरी रंगोली निर्माण कार्यक्रम आयोजना गरिएको छ।
तिहारलाई थप उल्लासमय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न रङ र सामग्रीको प्रयोग गर्दै आकर्षक रंगोली तयार पारेका छन्। विद्यार्थीहरूले आफ्नो कल्पनाशक्ति, कला र सिर्जनशीलतालाई रंगोलीमार्फत प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरू आ–आफ्नो समूहमा विभाजित भई रंगोली निर्माणमा सहभागी भएका थिए। उनीहरूको उत्साह र मेहनतलाई थप प्रोत्साहन दिन शिक्षक–शिक्षिकाहरूले पनि आ–आफ्नो समूहलाई साथ दिएका थिए। शिक्षकहरूको साथ, सुझाव र हौसलाले विद्यार्थीहरूलाई अझ उत्साहित बनाएको थियो।
रंगोली निर्माणका क्रममा विद्यार्थीहरूले एकअर्कासँग सहकार्य गर्दै आफ्ना विचार र सिर्जनालाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए। यसले विद्यार्थीहरूमा कला र संस्कृतिप्रतिको रुचि बढाउनुका साथै सामूहिक कार्य, आपसी सहयोग र सिर्जनात्मक सोचको विकासमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
पढाइसँगै विद्यार्थीको प्रतिभा, व्यवहारिक सीप र सांस्कृतिक चेतना विकासमा जोड दिँदै विद्यालयले आयोजना गरेको यस्ता गतिविधिले तिहारको सांस्कृतिक महत्त्वलाई विद्यालयस्तरमै जीवन्त बनाएको छ। विद्यार्थी र शिक्षकबीचको आत्मीयता तथा सहकार्यले कार्यक्रमलाई थप रोचक र उत्साहपूर्ण बनाएको थियो।

