काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले उच्च शिक्षालाई प्रविधिमैत्री बनाउनेदेखि चिकित्सा शिक्षा विस्तारसम्मका योजना अघि सारेको छ । विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सुरक्षाजस्ता नयाँ पुस्ताका विषयलाई विशेष प्राथमिकता दिइएको छ ।
विश्वविद्यालयको ४३औँ सभाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेसँगै यी कार्यक्रम अघि बढाउने बाटो खुलेको हो । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको सभाले बजेट तथा नीति–कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो ।
विश्वविद्यालयले गोठगाउँमा रहेको ८०५ बिघा क्षेत्रफललाई गुरुयोजनाअनुसार विकास गर्ने योजना पनि बनाएको छ । त्यहाँ आवश्यक शैक्षिक तथा प्रशासनिक पूर्वाधारलाई एकीकृत रूपमा विस्तार गरिनेछ भने विश्वविद्यालयका सेवा डिजिटल माध्यमबाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
चिकित्सा शिक्षामा पनि पूर्वाञ्चल विश्वविद्यालयले नयाँ काम अघि बढाउने जनाएको छ । गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने तथा कोशी अस्पतालसँगको सहकार्यबाट चिकित्सा शिक्षाको गुणस्तर थप सुधार गर्ने योजना छ ।
त्यस्तै, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा अनुसन्धान गर्न छुट्टै अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ । अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा राखिएको छ ।
विश्वविद्यालयले उच्च शिक्षामा पहुँच विस्तारका लागि पछाडि परेका वर्गका विद्यार्थीलाई लक्षित छात्रवृत्ति कार्यक्रमसमेत विस्तार गर्ने जनाएको छ ।
सभाको अध्यक्षता गरेका शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापी आवश्यकताअनुसार उच्च शिक्षा प्रणालीलाई अघि बढाउनुपर्ने बताए । उनले पारित कार्यक्रमलाई कागजमै सीमित नराखी स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमासहित कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
सभाले विश्वविद्यालयको कार्यकारी परिषद्मा तीन वर्षका लागि प्रा.डा. परिचा उपाध्याय ढुंगेल, प्रा.डा. कृष्णप्रसाद पाण्डे र प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।