काठमाडौं । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु भएको छ।
सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बागमती प्रादेशिक कार्यालय परिसरमा आजदेखि तीनदिने मेला आयोजना गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा सञ्चालन गरिएको मेलाको मुख्य उद्देश्य स्वदेशी उत्पादनलाई बजारसँग जोड्नु, स्थानीय उद्यमीलाई प्रोत्साहन गर्नु तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षण गर्नु रहेको छ।
मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकले आफ्ना उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न स्टल राखेका छन्।
मेलामा तिहारमा प्रयोग हुने परम्परागत परिकार तथा खाद्य सामग्री, फूलमाला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका वस्तु, माटाका भाँडाकुँडा, रैथाने बाली तथा विभिन्न कृषि उपजलाई प्राथमिकता दिइएको छ। आगन्तुकले स्थानीय उत्पादनको अवलोकन गर्नुका साथै आवश्यक सामग्री खरिदसमेत गर्न सक्नेछन्।
स्थानीय उत्पादनको पहिचान र बजारीकरणमार्फत कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने सरकारको लक्ष्य छ। विशेषगरी महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनको उपभोग बढाउने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ।
सरकारले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएको छ। साताको दुई दिन सार्वजनिक बिदाको समयलाई उपयोग गर्दै सप्ताहान्तमा यस्ता मेला तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र हालको अभ्यासलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्ने योजना अघि सारिएको छ।
स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्याउने, रैथाने वस्तुको बजार विस्तार गर्ने र मौलिक संस्कृति संरक्षण गर्ने प्रयासका रूपमा तिहार विशेष रैथाने मेलालाई हेरिएको छ।