दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित मोतिपुर जंगलको भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा परी बर्दियाको गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारुको मृत्यु भएको हो। घाइते अवस्थामा उपचारका लागि भारतको लखनउ लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ।

प्रहरीका अनुसार हिजो दिउँसो करिब १ बजे भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बर्दियाको बारबर्दिया नगरपालिका–३ बानियाभार निवासी २५ वर्षीय आशिष थारु गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार बाँसगढी नगरपालिका–७ निवासी १८ वर्षीय रमन थारुको टाउको र मुखमा सामान्य चोट लागेको थियो। कौशिल्या अस्पताल बाँसगढीमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।

त्यस्तै, भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइ निवासी १८ वर्षीय सहाबुदिन खान र पछाडि सवार २०/२२ वर्षीय जमाल खान पनि गम्भीर घाइते भएका छन्। सहाबुदिनको टाउको र अनुहारमा चोट लागेको छ भने जमालको टाउको, मुख र अनुहारमा चोट लागेको जनाइएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply