ममता काफ्ले हत्या प्रकरणमा श्रीमान् नरेश भट्ट दोषी ठहर, मार्चमा सजाय सुनाइने

ममता काफ्ले हत्या प्रकरणमा श्रीमान् नरेश भट्ट दोषी ठहर, मार्चमा सजाय सुनाइने

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट अदालतबाट दोषी ठहर भएका छन्। अमेरिकी अदालतमा चलेको सुनुवाइपछि जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मानव शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो।

प्रिन्स विलियम काउन्टीको अदालतमा भएको सुनुवाइमा जुरीले तीनवटै अभियोगमा भट्टलाई दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई आगामी सन् २०२७ मार्च १२ मा सजाय सुनाउने मिति तोकिएको छ।

ममता सन् २०२४ जुलाईदेखि सम्पर्कविहीन भएकी थिइन्। उनी लामो समयसम्म फेला नपरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनका श्रीमान् नरेश भट्ट पक्राउ परेका थिए।

मुद्दाको सुनुवाइका क्रममा भट्टले ममताको मृत्यु भइसकेको र उनको शव टुक्र्याएर विभिन्न स्थानमा फालेको स्वीकार गरेका थिए। तर उनले ममताको हत्या आफूले नगरेको र उनको मृत्यु आत्महत्याका कारण भएको दाबी गरेका थिए। जुरीले भने उक्त दाबी स्वीकार नगरी उनलाई हत्यासहितका तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।

अहिलेसम्म ममताको शव फेला परेको छैन। शव बरामद हुन नसकेको अवस्थामा पनि अदालतमा प्रस्तुत प्रमाण र सुनुवाइका आधारमा जुरीले भट्टलाई दोषी ठहर गरेको हो।

प्रथम श्रेणीको हत्यामा भट्टलाई २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। शव लुकाएको र मानव शरीरको अपमान गरेको अभियोगमा पनि थप सजाय हुन सक्नेछ। सजाय निर्धारण नभएसम्म उनी हिरासतमै रहनेछन्।

यस फैसलासँगै ममता काफ्ले भट्टको बेपत्ता तथा हत्या प्रकरणमा महत्वपूर्ण न्यायिक निर्णय आएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply