काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा सेमेस्टर प्रणाली विस्तार गर्ने तयारी थालेको छ। उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, परीक्षा प्रणालीमा सुधार र पठनपाठनलाई प्रभावकारी बनाउने उद्देश्यले यसबारे आवश्यक प्रक्रिया अघि बढाइएको हो।
यस विषयमा शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्रालयका प्रतिनिधि र त्रिविका पदाधिकारीबीच छलफल भएको थियो। छलफलमा त्रिविका उपकुलपति प्राडा भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्राडा अञ्जना सिंह र रजिस्ट्रार सहप्राडा रविन्द्र शिवाकोटीलगायत सहभागी थिए।
सेमेस्टर प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पाठ्यक्रम निर्माण तथा परिमार्जनको कामलाई प्राथमिकता दिइएको छलफलमा जानकारी गराइएको थियो। विश्वविद्यालयको शैक्षिक वातावरण सुधारका लागि क्याम्पसमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने, अनुसन्धानका गतिविधि विस्तार गर्ने र विद्यार्थीको शैक्षिक क्षमताका आधारमा भर्ना कोटा निर्धारण गर्ने विषयमा पनि छलफल भएको छ।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयबाट सम्बन्धन दिने प्रक्रियामा क्याम्पसको संख्या बढाउनेभन्दा शैक्षिक गुणस्तर सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए। उनका अनुसार सम्बन्धन प्राप्त क्याम्पसमा आवश्यक भौतिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था हुनुपर्छ।
उपकुलपति भोला थापाले त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न मन्त्रालयसँग सहकार्य गर्दै योजनाबद्ध रूपमा अघि बढ्ने बताएका छन्। उनले विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलमा विश्वविद्यालयको समग्र शैक्षिक सुधारसँगै पूर्वाधार व्यवस्थापन र संस्थागत विकासका कामलाई अघि बढाउने विषयमा जोड दिइएको जनाइएको छ।