एकै दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

एकै दिन देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा एकै दिन ६ जनाको मृत्यु भएको छ। तनहुँ, नुवाकोट, झापा, उदयपुर, बर्दिया र बाँकेमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जना मोटरसाइकल चालक तथा एक जना पैदलयात्रीको ज्यान गएको हो।

प्रहरीका अनुसार २०८३ कात्तिक २८ गते राति तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक ३२ वर्षीय शम्भु विकको मृत्यु भएको छ। भानु नगरपालिका–५ मैबल घर भएका विकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्‍याइएकोमा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, कात्तिक २७ गते राति नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा चालक ५५ वर्षीय नारायण कार्कीको मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका–४ निवासी कार्कीलाई उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जानकारी अस्पतालले दिएको प्रहरीले जनाएको छ।

झापाको शिवसताक्षी नगरपालिका–८ बुद्धचोकस्थित पूर्व–पश्चिम राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा २१ वर्षीय साहिल गजमेरको मृत्यु भएको छ। बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको कार र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा घाइते भएका गजमेरलाई उपचारका क्रममा चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरेका थिए।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा २२ वर्षीय रोजन परियारको मृत्यु भएको छ। धनकुटा नगरपालिका–५ निवासी परियारलाई जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा दिउँसो १ः३० बजे मृत घोषणा गरिएको थियो।

बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनिबस र भारतीय मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार उनका ५५ वर्षीय बुबा दलबहादुर खत्रीको मृत्यु भएको हो। दुवैलाई बर्दिया जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा गाडीको ठक्करबाट ५७/५८ वर्षीया दमन्ती सापकोटाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–२ सिद्धनगर निवासी सापकोटालाई ठक्कर दिँदा घाइते भएपछि उपचारका लागि लगिएकोमा दिउँसो २ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply