काठमाडौं । भारतमा निर्वासनमा रहेकी बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने तयारीमा रहेको खबर सार्वजनिक भएको छ। बंगलादेशको विजय दिवसको अवसर पारेर ढाका पुग्ने इच्छा व्यक्त गर्दै उनले राष्ट्रिय ध्वजावाहक विमानबाट फर्कने व्यवस्था मिलाउन आग्रह गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।
हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीका अनुसार उनी भारतको नयाँदिल्लीबाट ‘बिमान बंगलादेश एयरलाइन्स’ मार्फत स्वदेश जान चाहन्छिन्। सन् २०२४ अगस्ट ५ मा सत्ता गुमाएपछि उनी बंगलादेश छाडेर भारत पुगेकी थिइन्। त्यसयता उनी भारतमै निर्वासन जीवन बिताउँदै आएकी छन्।
तर हसिनाको स्वदेश फिर्ती सहज देखिएको छैन। बंगलादेश सरकारले उनी फर्कन चाहेमा भारतसँग भएको सुपुर्दगी सन्धिअनुसार कानुनी प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ। बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले कानुनी र सुपुर्दगी प्रक्रियाबाहेक अन्य माध्यमबाट उनको फिर्ती सम्भव नहुने बताएका छन्।
सन् २०२४ मा विद्यार्थी आन्दोलनमाथि भएको हिंसात्मक दमनको आदेश दिएको आरोपमा बंगलादेशको अदालतले गत वर्ष हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले उक्त आन्दोलनका क्रममा १ हजार ४०० जनासम्मको ज्यान गएको उल्लेख गरेको छ।
हसिनाले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन्। डिसेम्बर १६ मा स्वदेश फर्किने उनको चाहना र बंगलादेश सरकारले अघि सारेको सुपुर्दगी प्रक्रियाबीच अब के हुन्छ भन्ने चासो बढेको छ।