काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) को जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनको प्रभावबाट हिमाली समुदायलाई सुरक्षित राख्ने उद्देश्यले ४९.९४ मिलियन अमेरिकी डलरको ग्लोफ सञ्जीवनी परियोजना अघि बढाइएको छ।
राजधानीमा आयोजित परियोजनाको उद्घाटन कार्यशालामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् जोखिम न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने सुरक्षित राष्ट्र निर्माणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सम्भावित जोखिमको सूचना समयमै समुदायसम्म पुर्याउन सके विपद् आउनुअघि नै आवश्यक सतर्कता अपनाउन सकिने उनको भनाइ थियो।
कार्यशालामा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, हरित जलवायु कोषको सचिवालयका प्रतिनिधि बाप्पोन फखरुद्दिन र यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकालगायतले सम्बोधन गरेका थिए।
कुल ४९.९४ मिलियन अमेरिकी डलर लागतको उक्त परियोजनामा हरित जलवायु कोषले ३६.१६ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ। त्यस्तै, नेपाल सरकारले ११.३२ मिलियन, यूएनडीपीले २.१४ मिलियन र निजी क्षेत्रका साझेदारहरूले ०.३२ मिलियन अमेरिकी डलर योगदान गर्नेछन्।
हिमताल विस्फोटबाट हुन सक्ने बाढीको जोखिममा रहेका हिमाली समुदायको सुरक्षा, पूर्वसूचना प्रणालीको विकास तथा विपद् पूर्वतयारीलाई परियोजनाले प्राथमिकता दिनेछ।