काठमाडौं । स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नगदसहित काठमाडौंको ठमेलबाट दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मंसिर ९ गते दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ स्थित स्नोलाइन होटलमा अवैध स्रोतको रकम लुकाइछिपाइ राखिएको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४ हजार २१५ दशमलव ०९ र संयुक्त अरब इमिरेट्सका दिराम ५५ सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।
बरामद रकमको स्रोत र घटनाको प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।