नवलपरासीमा बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

नवलपरासीमा बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मंसिर ९ गते राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्र्याक्टर ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएकोमा राति १०ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ। उनीहरू दुवैको मुख, छाती तथा टाउकोमा चोट लागेको बताइएको छ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिका–४ का १६ वर्षीय रविन चौधरी, २० वर्षीय रिजन चौधरी र २६ वर्षीय सुमेन्द्र चौधरीको अवस्था मध्यम रहेको छ। अन्य घाइतेहरू विशाल राना, श्याम चौधरी, गुल्सन थापा, युवराज चौधरी, आदिश आले, प्रिन्स विक, खेमनारायण चौधरी र घनश्याम चौधरीको अवस्था सामान्य रहेको छ।

घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भएका छन्।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply