उत्तराखण्ड, भारत, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णरुपमा लाभ लिने साँचो नै शिक्षा हो भन्नुभएको छ । प्रधानमन्त्री ओलीले उक्त कुरा भारतको उत्तराखण्डस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयद्वारा उहाँलाई आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको समारोहलाई विश्वविद्यालयमा सम्बोधन गर्दा बताउनुभएको हो । सम्बोधनमा उहाँले भन्नुभयो, “प्रत्येक व्यक्तिसँग विशेष रुचि र क्षमता हुन्छ, दक्षता र सीप हुन्छ र राज्यले उसको सीप र क्षमता निर्माण गर्ने उपयुक्त अवसर प्रदान गर्नुपर्छ ।
सरकारले राज्यको मानव संशाधनको आवश्यकता मूल्यांकन गरी आफ्ना जनतामा भएको प्रतिभा र क्षमताको भरपुर उपयोग गर्नुपर्छ भने व्यक्तिले पनि आफ्नो ज्ञान समाज र राष्ट्रको बृहत्तर हितका लागि प्रयोग गर्नुपर्छ, उहाँले भन्नुभयो । शिक्षाले व्यक्तिलाई अझ राम्रो बनाउने मात्र नभई शिक्षाले राष्ट्र निर्माणको बृहत्तर लक्ष्यमा पनि योगदान पु¥याउनु पर्छ, उहाँले भन्नुभयो । हाम्रा पुर्खाहरु शिक्षा र आविष्कारका प्रवर्तक भएका र उनीहरुले कला, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याएको पनि उहाँले उल्लेख गर्नुभयो । “हाम्रै क्षेत्रले ऋषिमुनिहरु, साधुसन्त र ठूला दार्शनिकहरुलाई जन्मायो,” उहाँले बताउनुभयो ।
हाम्रै पुर्खाहरुले नै विश्वलाई वेद, उपनिषद्, योग, आयुर्वेद, व्याकरण र भाषा विज्ञानजस्ता ज्ञान उत्सर्जन गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । उनीहरुले नै विश्वलाई विजगणितजस्ता ज्ञान प्रदान गरे भने हाम्रा पुर्खाहरुले नै मानवतालाई अहिंसाको ज्ञान प्रदान गरे, उहाँले बताउनुभयो ।
हाम्रा पुर्खाले दिएको त्यही ज्ञानको ज्योतिलाई अझै अगाडि बढाउनुपर्ने दायित्व हामीमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । वर्तमान समयमा प्राविधिक ज्ञान र आविष्कारमा ठूलो परिवर्तन आएको बताउँदै प्रधानमन्त्री ओलीले अहिले हाम्रो क्षेत्रमा गरिबी उल्लेखनीय रुपमा घट्दै गएको र मानव विकास सूचकांक राम्रो हुँदै गएको पनि बताउनुभयो । हामी बाँचेको संसार राम्रो हुँदै गएपनि त्यत्तिमै चित्त बुझाएर बस्ने ठाउँ नभएको र हाम्रा मानवीय क्षमताको उच्चतम प्रयोग गर्न अझै धेरै कुरा गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
हाम्रा धेरै कमीकमजोरीलाई हटाउनु जरुरी रहेको र विकासको फल दीर्घकालीन र समावेशी रुपमा सबैमा पुग्नुपर्ने पनि उहाँले बताउनुभयो । त्यसका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने र अझ प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपालका ६५ प्रतिशत जनता कृषिमा निर्भर रहेको र कृषिको कूल गार्हस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान रहेको बताउँदै उहाँले उच्च लाभ प्रदान गर्ने कृषि राष्ट्रिय विकासको प्राथमिकता प्राप्त एजेण्डा रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । नेपालको कृषिलाई रुपान्तरण गर्न गोविन्दवल्लभ पन्त विश्वविद्यालयजस्ता संस्थाले प्रविधिको प्रयोगबाट वंशाणुगत स्मृतिलाई रक्षा गर्दै सहयोग पु¥याउन सक्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सहयोगले बजार विस्तारमा सहयोग पु¥याई कृषि विकासमा सहजता ल्याउन सक्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सन् २०१५ मा आफूले संविधान जारी गरेपछि भारतको भ्रमण गरेको र यसपटक संविधानप्रदत्त निर्वाचनबाट भएका तीन तहका निर्वाचनपछि भ्रमणमा आएको पनि स्मरण गर्नुभयो । उहाँले यसपटक भारतीय प्रधानमन्त्री मोदीसँगै नेपाल–भारत कृषि क्षेत्रमा साझेदारीको शुरुवात् गरेको बताउँदै त्यसले दुई देशको सम्बन्ध नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अन्तमा उहाँले मानार्थ विद्यावारिधि प्रदान गरेकामा विश्वविद्यालय र विश्वविद्यालयका उपकूलपति प्राध्यापक एके मिश्रलाई धन्यवाद व्यक्त गर्नुभयो ।
Add Comment