विविध

सडक विस्तारमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई झमेला

चितवन, १४ पुस । नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा जति यात्रु प्रताडित छन् त्योभन्दा बढी स्थानीय जनता प्रभावित भएका छन् । सडकमा सवारीसाधन रोकिँदा यात्रुले दिसापिसाब गर्ने थलो नै सडक आसपास हुने गरेकाले यात्रुले मठमन्दिरदेखि खाना पकाउने चुलोसम्ममा दिसापिसाब गरेको स्थानीयवासीको गुनासो छ । उक्त सडक पर्ने भरतपुर महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष मानबहादुर रानामगर सडक बन्द हुँदा स्थानीयवासी साह्रै ठूलो समस्यामा पर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरको चुलोचौकोदेखि मठमन्दिरसम्म यात्रुले दिसापिसाब गरेर सताएका छन् ।”
दासढुङ्गाको रामलक्ष्मण होटलको चुलोमा नै दिसा गरेको पाइयो वडाअध्यक्ष रानामगर उल्लेख गर्नुुहुन्छ , “फोहर नगरेको ठाउँ भेट्न मुस्किल हुन्छ ।” करेसाबारी र खेती गरेका ठाउँमा भएका फोहरको स्थानीयवासीले खासै गुनासो गरेका छैनन् तर त्योभन्दा बढी गुनासो संवेदनशील क्षेत्रमा भएका फोहरमैलामा छ । अब सवारीसाधन रोक्नुपर्दा घरगाउँ नभएका क्षेत्रमा रोक्न स्थानीय प्रशासनसँग आग्रह गरिएको उहाँ जानकारी दिनुहुन्छ । नारायणगढ–मुग्लिन सडकखण्डको जुगेडी पुल नजिकै घर भएका टीकाराम पौडेल पनि समयमा काम नगरिदिँदा स्थानीयवासी पीडित बनेको बताउनुहुन्छ । सडक आसपासमा यात्रुले फोहर गर्ने गरेको, सडक धुलाम्य हुँदा प्रदूषण बढेको, गाडीका हर्नले ध्वनि प्रदूषण बढाएको उहाँको भनाइ छ । घरका चुलो, पानीका धारा, मठमन्दिर, गोठ, घर, आँगन जताततै फोहर हुने गरेको स्थानीयबासीको गुनासो छ ।
चितवन खुल्ला दिशामुक्त जिल्ला घोषणा भए पनि राजमार्ग र सडक क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त पनि स्थानीयवासीको व्यापक गुनासाका कारण पुस १८ गतेबाट सडक बन्द गर्दा होटल र घर नभएको क्षेत्रमा सवारी रोक्न लागिएको बताउनुहुन्छ । सो सडकखण्ड दुई वर्षभित्रमा निर्माण गर्नका लागि सडकलाई तीन भागमा विभाजन गरेर तीन वटा ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौताको पहिलो समय सकिइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । विभिन्न कारण जनाउँदै ठेकेदार कम्पनीले समय थप गर्दै आएका छन् । थपिएको समय आउँदो फेब्रुअरीमा सकिँदैछ ।