वर्षा प्रणाली कमजोर हुँदै, आइतबारदेखि अधिकांश स्थानमा मौसम खुल्ने अनुमान

वर्षा प्रणाली कमजोर हुँदै, आइतबारदेखि अधिकांश स्थानमा मौसम खुल्ने अनुमान

काठमाडौं । नेपालमा सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली शनिबार मध्याह्नदेखि कमजोर हुँदै जाने र आइतबार बिहानदेखि देशका अधिकांश स्थानमा मौसम खुल्ने अनुमान गरिएको छ।

जलवायु तथा मौसम विज्ञ उज्ज्वल उपाध्यायका अनुसार शनिबार बिहान ११ बजेसम्मको मौसमी विश्लेषणले नेपालमा सक्रिय रहेको र नेपालतर्फ अघि बढिरहेको वर्षा प्रणाली कमजोर हुँदै गएको देखाएको छ।

उनका अनुसार शनिबार मध्याह्नपछि वर्षाको तीव्रता घट्दै जानेछ भने साँझसम्म अधिकांश स्थानमा वर्षा रोकिनेछ। काठमाडौं उपत्यकामा पनि साँझसम्म वर्षा रोकिने र रातिदेखि बादल हट्दै आइतबार बिहानै घाम लाग्ने सम्भावना रहेको उनले बताएका छन्।

यसअघि नै पूर्वी तथा पश्चिम नेपालको तराई र चुरे क्षेत्रका अधिकांश स्थानमा मौसम खुल्न थालेको छ।

तराई तथा मध्यपहाडी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि उच्च पहाडी र हिमाली क्षेत्रमा भने शनिबार राति तथा आइतबार बिहानसम्म वर्षा र हिमपात जारी रहन सक्ने अनुमान गरिएको छ।

विशेषगरी कञ्चनजङ्घा, मकालु, सगरमाथा, चो–ओयु, गौरीशङ्कर, लाङ्टाङ, गणेश, मनास्लु, अन्नपूर्ण तथा धौलागिरि–गुर्जा हिमशृङ्खलाको दक्षिणी मोहोडाका उपत्यका र खोँचहरूमा भारी हिमपातको सम्भावना रहेको उपाध्यायले बताएका छन्।

उनले ती क्षेत्रमा रहेका पदयात्री तथा स्थानीय बासिन्दालाई आइतबार बिहानसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

वर्षा कमजोर हुँदै गए पनि गण्डकी तथा कोशी जलाधार क्षेत्रसहित साना नदीहरूमा बाढीको जोखिम कायमै रहेको उपाध्यायले बताएका छन्। उनका अनुसार पहाडी सडकमा गरिने लामो दूरीको यात्रा शनिबार मध्यरातसम्मका लागि स्थगित गर्नु उपयुक्त हुनेछ।

उच्च हिमाली क्षेत्रबाहेक अन्य भूभाग र काठमाडौं उपत्यकामा भने आइतबारदेखि सामान्य जनजीवनमा फर्कन सकिने अनुमान गरिएको छ।

यद्यपि, आइतबार बिहान केही स्थानमा बाक्लो कुहिरो र हुस्सुका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र मध्याह्नअघि नै मौसम क्रमशः खुल्दै जाने उनको आकलन छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply