Uncategorized

एमाले र माके केन्द्रको बैठकपछि संयुक्त केन्द्रीय समितिको बैठक,पार्टी एकता अनुमोदन, नयाँ पार्टी दर्ता हुने

काठमाडौँ, जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो । एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले जानकारी गराउनु भएको थियो । अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ ।
एमालेका महासचिव एवम् संयोजन समितिका सदस्य ईश्वर पोखरेलले एकता प्रक्रियालाई अन्तिम रुप दिइएको जानकारी दिँदै दुवै पार्टीको बैठक बसेर यसलाई अनुमोदन गर्ने बताउनुभयो । दुई पार्टीको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ । सो नाम त निर्वाचन आयोगमा दर्ता भइसकेको छ नि भन्ने प्रश्नमा महासचिव पोखरेलले भन्नुभयो, “नेकपाको नाममा नै पार्टी दर्ता हुन्छ । समस्या छैन ।”
एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुनेछ । यस्तै नेपालको सापेक्षातामा जनताको जनवादलाई स्वीकार गरेर जाने विषयमा समेत दुई पार्टीबीच सहमति भएको छ । एकीकृत पार्टीमा पालैपालो नेतृत्व गर्नेलगायतका विषयमा सहमति भएको छ । नयाँ पार्टीको स्थायी समितिमा ४३ जना छन् । त्यसमा एमालेको तर्फबाट २५ र माओवादी केन्द्रका तर्फबाट १८ जना रहने निर्णय गरिएको छ । कूल ४४१ जनाको केन्द्रीय समितिमा २४१ एमालेका तर्फबाट र २०० जना माओवादी केन्द्रका तर्फबाट रहनेछन् । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य रहनेछ ।
एकता संयोजन समितिको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटामा एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार केन्द्रीय समितिमा पार्टी एकताका बारेमा जानकारी गराउने कार्यक्रम छ । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकसमेत बस्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकताको प्रक्रियाका बारेमा अध्यक्ष दाहालले जानकारी दिने कार्यसूची रहेको छ ।
एकीकृत पार्टीको संयुक्त बैठक बस्ने : एकता संयोजन समितिको बैठकमा भएको सहमतिअनुसार निर्वाचन आयोगमा पुगेर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल संयुक्त रुपमा निर्वाचन आयोग पुगेर एकीकृत पार्टी दर्ता गराउने कार्यक्रम छ । सो कार्यक्रमलगत्तै राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको छ । अपराह्न १६ः०० बजेका लागि सो कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले जानकारी दिनुभयो । एकता घोषणा कार्यक्रम सम्पन्न भएलगत्तै आज साँझ एक होटलमा यहाँ एकीकृत पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम छ ।

एमाले र माओवादी केन्द्रको बेग्लाबेग्लै बैठकपछि संयुक्त केन्द्रीय समितिको बैठक : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीको बीचमा एकता भएको बताउनुभएको थियो ।

उहाँले टुटफुटको विगतको इतिहासलाई समेत आफूहरुले नजिकबाट नियालेको र भोगेको भन्दै देश र जनतालाई समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ एकता प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष ओलीले एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन भएका प्रयासका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउँदै आगामी दिन एकताबद्ध भएर जानसमेत केन्द्रीय सदस्यहरुसँग आग्रह गर्नुभयो ।
संघीय संसद्, प्रदेश, स्थानीय तहमा समेत वाम शक्तिको सुविधाजनक बहुमत रहेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले दुई ठूला पार्टीको एकताले स्वदेशी तथा विदेशी समुदायमा समेत खुशीको सञ्चार भएको बताउनुभयो । उहाँले एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने र तत्कालीन कार्यक्रमका रुपमा ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई अंगिकार गर्ने सहमति भएको जानकारी दिनुभएको थियो ।
नौजनाको हेडक्वार्टर बन्ने : एमाले र माओवादी केन्द्रको एकतापछि नौ सदस्यीय हेडक्वार्टर बन्ने भएको छ । एकता संयोजन समितिमा रहेका आठजना र थप एक सदस्य रहने गरी सो व्यवस्था गरिएको सचिव भट्टराईले जानकारी दिनुभयो । एकता संयोजन समितिमा रहनुभएका केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा हेडक्वार्टरमा रहनुहुनेछ । सो समितिमा विष्णु पौडेललाई थप गरिएको छ । पौडेललाई संगठनको काम गर्ने गरी महासचिव एवं नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता रहने सहमति भएको छ ।
माओवादीको केन्द्रीय सचिवालय बैठक : यस्तै, पार्टी एकताका बारेमा माओवादी केन्द्रको सचिवालयको बैठकमा अध्यक्ष दाहालले पार्टी एकताको विषयमा जानकारी गराउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको बैठकमा एकताका बारेमा जानकारी गराउनुभएको थियो । बैठकमा स्थायी समिति र केन्द्रीय समितिमा रहने सदस्यका बारेमा छलफल भएको थियो ।
संयुक्त केन्द्रीय समितिको बैठक : प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समितिको बैठक बसेको छ । बैठकमा एकता प्रक्रियाका बारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी गराउने कार्यक्रम रहेको छ । सो बैठकमा दुवै पार्टी विघटन भएको र नयाँ पार्टी गठन गरिएको जानकारी दिइने सचिव भट्टराईले बताउनुभयो । दुबै पार्टीले आज मात्रै एकता प्रक्रियालाई अन्तिम रुप दिने निर्णय गरेका हुन् ।