Uncategorized

‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा निवेदन दर्ता, राजनीतिक स्थायित्वका लागि एकता सकारात्मक

काठमाडौँ, । एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाउनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आयोगमा पुगेर आफूहरुले पार्टी एकता गरेको र दल दर्ताका लागि निवेदन दिन आएको बताउनुभयो । सो क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टी विधिवत् रुपमा एउटै भएका छौँ ।” उहाँले दुवै पार्टीबाट संयुक्त रुपमा केन्द्रीय कमिटी गठन गरेर दर्ताको निवेदन आयोगमा लिएर आएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि पार्टी एकताबद्ध भएको उल्लेख गर्दै भन्नुभयो, “पार्टी एकता भएपछि दर्ता हुनुपर्छ, निर्वाचन प्रक्रियाका लागि पनि त्यो जरुरी छ, यो दलले राष्ट्रिय मान्यता पाउने छ भन्ने विश्वास छ ।” अध्यक्ष ओलीले निर्वाचनमा समयमा आफूहरुले जनताप्रति पार्टी एकता गर्ने र मुलुकको विकास गर्ने भनी गरेको प्रतिबद्धता पूरा गर्न पार्टी एकता गरेको बताउनुभयो ।
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता गर्ने सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नका लागि दल दर्ता गर्न आएको बताउनुभयो । नेता दाहालले भन्नुभयो, “नयाँ पार्टीको हैसियतले दल दर्ता गर्ने प्रयोजनका निम्ति आएको छौँ, आम जनताको विकास र समृद्धिको चाहना र जनताप्रति पार्टी एकता गर्ने प्रतिबद्धता इमान्दारपूर्वक पूरा गरेका छौँ ।”
अध्यक्षद्वय दुवैले आफूहरुले पार्टी एकता गर्ने निर्णय गरेको कागजात एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङमार्फत बुझाएर आवश्यक हस्ताक्षर भएपछि ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्षद्वयले लोकतन्त्रलाई संस्थागत गर्न र जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्नका लागि पार्टी एकता गरेको उल्लेख गर्दै सुशासन, स्थिरता र विकासको काम जनताको अपेक्षनुरुपमा अघि बढाउने विश्वास दिलाउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्र सफल पार्न धेरै दल हुनुभन्दा दलबीच पार्टी एकता हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै आयोगका तर्फबाट बधाई दिनुभयो । सो अवसरमा एमालेका नेता माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत दुवै पार्टीका नेताको उल्लेख्य उपस्थिति थियो ।

राजनीतिक स्थायित्वका लागि एकता सकारात्मकः सङ्गठनात्मक चुनौती पनि :  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच औपचारिक रुपमा पार्टी एकताको घोषणा भएपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक्लो ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएबाट विभिन्न क्षेत्रमा विद्वान्ले मुलुकमा राजनीति स्थायित्व हुने संज्ञा दिएका छन् । उस्ताउस्तै विचार राख्ने दुई ठूला पार्टी एक्लाएक्लै हिँड्नुभन्दा एउटै पार्टी हुँदा मुलुकमा राजनीतिक स्थायित्व भई मुलुकमा विकासको ढोका खुल्ने विद्वान्को धारणा छ । राजनीतिक विश्लेषक सोमत घिमिरेले वामपन्थी पार्टीहरु एक हुनुलाई सकरात्मक रुपमा लिनुभएको छ । “दुवै पार्टीको विचारमा खास फरक छैन, पृष्ठभूमिलाई हेर्दा एउटा चलनचल्तीअनुसार आएको र अर्को जनयुद्धबाट आएको भन्ने मात्र हो, दुई पार्टी एकता हुनु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो ।

घिमिरेका अनुसार दुई ठूला पार्टी छुट्टाछुट्टै हुँदा जनताको मत कम्युनिष्टलाई नै बाँडिएको थियो । एकता भएपछि एक ढिक्का भयो जुन राम्रो कुरा हो । ठूला पार्टी एक हुँदा मुलुकमा राजनीतिक स्थायित्व हुनाका साथै स्वास्थ्य र शिक्षा नीति तथा समग्र मुलुकको विकासमा मद्दत पुग्छ । “दुई कम्युनिष्ट पार्टी एकता हुँदा दुई वामपन्थी ठूला दलले जनताको मत माग्ने प्रतिष्पर्धाको अन्त्य भएको छ तर ठूला दुई पार्टीभित्र संगठनात्मक व्यवस्थापनमा निकै चुनौती छ, किनभने दुवै पार्टीमा धेरै नेता छन्”, राजनीतिक विश्लेषक घिमिरेले थप्नुभयो ।
अर्का राजनीतिक विश्लेषक उद्धव प्याकुरेलका अनुसार मतदाता दुई पार्टी एकता हुन लागेकामा धेरै खुशी मानिरहेका छन् तर पार्टीका नेताबीचमा व्यक्तिगत चरित्रका कारण व्यवस्थापनमा निकै कठिनाइ हुनेछ । “उस्तै विचारधाराको पार्टी हो, एकता हुनु सकारात्मक कुरा हो तर राजनीतिक व्यक्तिवादी चरित्र, धेरै नेतृत्व गर्न सक्ने नेताहरु पदमिलानमा निकै कठिनाइ हुन सक्छ”, प्याकुरेलले जोड्नुभयो ।
एमाले र माओवादी दुई पार्टीबीचको एकतालाई वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले पनि सकारात्मक रुपमा लिई मुलुकमा स्थायित्व मिल्ने आशा गर्नुभएको छ । “नेपालका ठूला दुई वामपन्थी मिल्नु ऐतिहासिक कुरा हो, वामपन्थी एक र प्रजातान्त्रिक एक भए मुलुकको विकासमा पनि सहज हुन्छ, पार्टी एकता हुनु निकै राम्रो हो”, मैनालीले थप्नुभयो । सानो मुलुकका धेरै राजनीतिक पार्टी हुँदा जुन रुपमा विकास हुनुपर्ने हो त्यसअनुरुप हुन सकेको नसकेको उहाँको बुझाइ छ ।
वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले पनि सिद्धान्त र वैचारिक दृष्टिकोणले उस्तै पार्टी भएको हुँदा एकता हुनुलाई सकारात्मक रुपमा हेर्नुभएको छ । “एकता आफैँमा राम्रो कुरा हो, नेपालमा दुई÷तीन पार्टीभन्दा बढी जरुरी छैन, पार्टीका खिंचातानीका कारण विकासमा अवरोध पुगेको छ, अरु पार्टीहरुबीच पनि विस्तारै एकता भए राम्रो हुन्थ्यो”, उहाँले जोड्नुभयो ।
नेपाली वामपन्थी राजनीतिको इतिहासमा ठूला दुई पार्टी एकीकरण भएको आज ऐतिहासिक दिन हो । यसअघि नेपाली राजनीतिक इतिहासमा यति ठूला राजनीति दलबीच एकता भएको इतिहास छैन । गत असोज १७ गते एमाले र माओवादी निर्वाचनमा तालमेल गरेर पछि पार्टी एकता गर्ने घोषणा गरेर अगाडि बढेका थिए । तीनै तहको निर्वाचन सम्पन्न भइसक्दा पनि दुई राजनीतिक दलबीच पार्टी एकता नहुँदा दुवै पार्टीका नेता तथा कार्यकर्तामा एक प्रकारको नैराश्य देखिन थालेको थियो । तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने र समय आएपछि घोषणा गर्ने बताउँदै आउनुभएको थियो । दुई अध्यक्षको भनाइ सही सावित भएको छ । बुधबार दुई अध्यक्ष बसेर पार्टी एकीकरण आज हुने सहमति गर्नुभएको थियो । दुई पार्टीबीचको गठबन्धन स्थायित्व र विकासका लागि भनेर घोषणा गरिएको थियो
त्यही नारालाई ध्यानमा राखेर निर्वाचनमा मतदाताले दुई पार्टीलाई झण्डै दुई तिहाइ बहुमत दिए जुन मत पार्टी एकता तथा मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि थियो । मतदाताले दुई पार्टी एक भएको हेर्न चाहेका थिए । दुई पार्टीले आज त्यही जनमतको कदर गरेका छन् ।
एकता सकारात्मक छ :  बुद्धिजीवी : चितवन–गत निर्वाचनमा वामगठबन्धन बनाई निर्वाचन लडेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यहाँका बुद्धिजीवीले यसलाई सकारात्मक रुपमा लिएका छन् । उनीहरूले एकतालाई दिगो बनाउनुपर्नेमा जोडसमेत दिएका छन् । वाम बुद्धिजीवी रमाकान्त सापकोटाले जनताको अभिमतअनुरुप ढिलो गरी एकता भएपनि एकताले जनताको भावना समेट्न सफल भएको बताउनुभयो । प्रा डा सूर्यकान्त घिमिरेले गत निर्वाचनमा भएको सहमतिको अनुमोदनका रुपमा पार्टी एकतालाई लिनुपर्ने बताउनुभयो । केन्द्रीय नेता र तल्लो तहका जनता पार्टी एकतामा लागेको भए पनि बीचको एक तह एकताको पक्षमा कम देखिएको बाहिरबाट प्रष्ट बुझ्न सकिएको उहाँ बताउनुहुन्छ ।
बुद्धिजीवी प्रेम रिमाल अहिलेको पार्टी एकता नौलो नभएर वाम गठबन्धनको पूर्व शर्तअनुरुप भएको बताउनुहुन्छ । गत निर्वाचनमा जनताले दिएको अभिमत नेताले इमान्दारीपूर्वक पूरा गरेको बताउँदै उहाँले सबै खाले कम्युनिष्ट पार्टीलाई विचार र विधिका आधारमा नजिक्याउँदै लैजाने र प्रतिपक्षलाई विकासनिर्माणको मूल विषयमा नजिक्याउन सकेमा एकता सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रा रामकुमार तिवारीले गत निर्वाचनमा दुई पार्टी एक भएर समृद्धिका लागि काम गर्ने जुन प्रतिबद्धता थियो, त्यसको नतिजा आएको बताउँदै मुलुकमा अब राजनीतिका खुद्रा पसल बन्द हुनका लागि सन्देश गएको विचार राख्नुभयो । बुद्धिजीवी डा केशवभक्त सापकोटा पार्टी मिलेर स्थायी सरकार र समृद्धिको नाराका कारण मत लिइसकेकाले दुई पार्टी एक हुनैपर्ने थियो भन्दै नैतिक रुपमा जनताका बीचमा गरिएका प्रतिबद्धता पूरा भएको बताउनुभयो ।

नेपाली जनताको इच्छा र चाहनाअनुसार एकताः अध्यक्ष दाहाल : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली जनताको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताउनुभएको छ । नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो भन्नुभयो । अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासंग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको धारणा व्यक्त गर्नुभयो ।

“हामी जनताका सामु गरेको प्रतिबद्धताबाट विचलित हुने छैनाँै, अस्थरताको युग अन्त्य भयो, अब सुशासन र राजनीतिक स्थिरताको युग शुरु भयो”– उहाँले भन्नुभयो । अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले संघर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आर्दशबाट विचलित नभई, एक्काइसौँ शताब्दिको भावना र चाहनालाई बुझ्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारका गएपछि स्खलित हुने प्रवृत्तिबाट सजग हुँदै जनताको पक्षमा काम गर्नुपर्ने र देशलाई नयाँ उचाइमा उठाएर जनताको सेवामा लागिपर्ने उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीभित्र हुर्कन थालेको अराजकता र अस्थिरतालाई निमिट्यान्न पार्नुपर्ने धारणा राख्नुभयो ।अध्यक्ष दाहालले आगामी दिन चुनौतीपूर्ण रहेको बताउँदै नेपाली जनताको चाहनालाई नै आत्मसात् गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो ।
आफूले विगतदेखि नै क्रमभंग र गुणात्मक काम गर्दै आएको उल्लेख गर्दै उहाँले एकता प्रक्रिया महान् छलाङको अर्को रुप हो भन्नुभयो ।अध्यक्ष दाहालले अक्सिजन र हाइड्रोजन मिलेर पानी बने जस्तै एमाले र माओवादी केन्द्र मिलेर नयाँ कम्युनिस्ट पार्टी बनेको बताउँदै राष्ट्रिय स्वाधिनता, एकता, आत्मसम्मान, नेपाली भएर बाँच्ने प्रक्रियालाई एकता प्रक्रियाले नयाँ आधार तयार पारेको धारणा व्यक्त गर्नुभयो ।
जेठ ३ गते नै पार्टी एकताको घोषणा गराँै भनेर आफूले नै प्रस्ताव गरेको बताउँदै उहाँले विसं २००६ मा गठन भएको नेपाल कम्युनिस्ट पार्टी २०१९ सालेदेखि भोगको विभाजनको शृङ्खलाबाट आज नयाँ युगमा प्रवेश गरेको छ भन्नुभयो । अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजान, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने, नेपालबाट विकास र स्थिरताका सन्देश दिने दृष्टिकोणबाट यो एकता तर्कपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै देशले राजनीतिक अराजकता, अस्थिरता सहन सक्दैन, राजनीतिक अस्थिरता कायम राखियो भने त्यसले हामी सबैलाई पिरोल्छ भनेर एकता प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

कम्युनिष्ट फुट्न होइन, जुट्न पनि जान्छन् भन्ने स्थापित– अध्यक्ष ओली :   प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको भन्नुभयो । अध्यक्ष ओलीले (एमाले) र (माओवादी केन्द्र)बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभयो ।

एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उहाँले भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।” “बहुमतसहितको सरकार, प्रदेश र स्थानीय तहमासमेत हाम्रै बहुमत छ, नेपालको कम्युनिष्ट आन्दोलन यो रुपमा आइपुग्दा संस्थापक महासचिव कति खुशी हुनुहुन्थ्यो होला ?” अध्यक्ष ओलीले भन्नुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अब शरदऋतु नभएको र सधैँ हराभरा हुने दिन शुरु भएको उल्लेख गर्दै “आजसम्म पनि एउटै कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एउटै पार्टीको सरकार छ, एउटै को बहुमत छ, छवटै प्रदेशमा सरकार छ, पपुलर भोटको बहुमत छ, स्थानीय तहमा एक्लैको बहुमत पुग्छ, त्यसकारण हाम्रा अगाडि सुन्दर सपना छन्, ती सपना पूरा गर्नुपर्दछ,” भन्नुभयो ।
अध्यक्ष ओलीले सबै तहका सरकार सही र प्रभावकारी नीति बनाएर अगाडि बढ्ने दृढता व्यक्त गर्दै “अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन, सही नीति तय गरेर देश निर्माण गर्ने अठोट गरेका छाँै,” भन्नुभयो । आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले नयाँ पार्टीमा दुई वटा अध्यक्ष किन रहेको भन्ने सन्दर्भमा सुशासन र समृद्धिको यात्रा ट्याम्पु चलाए जस्तो होइन, जेट इञ्जिनमा दुई वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुई वटा नै हुन्छन् बताउनुभयो ।
अध्यक्ष ओलीले समृद्धि, सुशासनको महाअभियान अगाडि बढाउन दुई अध्यक्षले मिलेर काम गर्ने, विचार विमर्श गरी अगाडि बढ्ने संकल्प गरेको उल्लेख गर्दै जिन्दगीका खुशीका दिनमध्ये आजको दिन आफूलाई असाध्यै खुशी लागेको दिन रहेको धारणा व्यक्त गर्नुभयो । लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई वर्तमान अनुकूल परिस्थितिलाई सदुपयोग गरी नेपाललाई नयाँ युगमा लैजाने विश्वास व्यक्त गर्दै उहाँले सानातिना कम्युनिष्ट पार्टीका नाममा पसल खोलेर बस्ने जमाना सकिएको हुँदा बृहत् एकता प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले अहंकारबाट मुक्त भएर देश निर्माणको महाअभियानमा एकजुट भएर अगाडि बढ्न आग्रह गर्दै छरिएका रहेका सबै कम्युनिष्ट महाअभियानमा सहभागी भएर योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै उहाँले अनावश्यक दम्भ नगर्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले अनावश्यक तर्क गरेर आफ्नै प्रतिष्ठा नघटाउन र जनताको माग एंव चाहनालाई सम्बोधन गर्नसमेत अनुरोध गर्नुभयो ।
आफूहरुलाई अहंकार देखाउन, दमन गर्न बहुमत चाहिएको नभई देश बनाउने जिम्मेवारी सालिनतापूर्वक निभाउन, भ्रष्टाचार रोक्न एकता र बहुमत चाहिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न, कानूनी राज, सुशासन लोकतान्त्रिक मूल्यमान्यता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय कानूनको राज चलाउने हाम्रो प्रतिबद्धता छ, यसबाट कोही आत्तिनु पर्दैन ।”
कसैलाई भेदभाव गरिँदैन : अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा सहभागी भएका सबै नेता तथा कार्यकर्तालाई क्षमता, योग्यता र सक्रियताका आधारमा जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि नेता तथा कार्यकर्तालाई भेदभाव गरिँदैन, योग्यता, क्षमता, सक्रियता हेरेर, आजको सक्रियता र भोलिकोसमेत अवस्था हेरेर जिम्मेवारी दिन्छौँ ।” अध्यक्ष ओलीले आज नयाँ इतिहास रचना भएको देश नयाँ युगमा प्रवेश गरेको बताउँदै आगामी तीन महिनाभित्रै सबै जनवर्गीय संगठनको एकता र समायोजन प्रक्रिया सम्पन्न गरिने जानकारी दिनुभयो ।