अन्तराष्ट्रिय

जर्जिया नेटोमा आबद्ध हुन्छ – स्टोल्टेन्बर्ग

टिब्लिसी । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध गरेपनि जर्जियालाई नेटोको सदस्यता प्रदान गरिने बताउनुभएको छ । तत्कालीन सोभियत सङ्घबाट टुक्रिएर स्वतन्त्र राष्ट्र बनेको जर्जियालाई नेटोको सदस्यता नलिन निरन्तर दबाब दिँदै आएको छ । गत सातादेखि शुरु भएको १२ दिने नेटो–जर्जिया सैनिक अभ्यासको निरीक्षणका क्रममा स्टोल्टेन्बर्ग जर्जियाको राजधानी टिब्लिसीमा हुनुहुन्छ ।

“नेटोमा आबद्ध २९ मुलुकले जर्जियालाई सदस्यता दिनेमा सहमति जनाइसकेका छन्,” स्टोल्टेन्बर्गले टिब्लिसीमा जर्जियाका प्रधानमन्त्री मामुका बाख्टाजसँगै आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । महासचिव स्टोल्टेन्बगले रुसको नामै लिएर नेटोको खुला–प्रवेश नीतिमा कुनै पनि मुलुकले हस्तक्षेप गर्ने अधिकार राख्दैन भन्नुभयो । “हामी रुस वा अरु कुनै शक्ति राष्ट्रले नेटोमा आबद्ध सदस्य राष्ट्रले गर्ने कार्यहरुका बारेमा निर्णय गर्न सक्दैनन् र त्यो हामीलाई स्वीकार्य छैन,” उहाँले बताउनुभयो ।

सन् २००८ मा रोमानीयामा आयोजित सम्मेलनमा नेटोका नेताहरुले जर्जिया नेटोमा आबद्ध हुन सक्ने बताएका थिए तर जर्जिया अझै पनि नेटोको औपचारिक सदस्य बन्न सकेको छैन । नेटोमा जर्जियाको प्रवेशलाई रुसले आफ्नो मुलुकमाथि विस्तारै हस्तक्षेप गर्न चाहेको रुपमा व्याख्या गरिरहेको छ । जर्जियाका प्रधानमन्त्री बाख्टाजले आफ्नो मुलुकको सुरक्षाका बारेमा निर्णय गर्ने अधिकारमाथि अर्को मुलुकले हस्तक्षेप गर्न नपाउने जिकिर गर्नुभयो ।  -रासस/एएफपी