गान्धीनगर, गुजरात । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिनुभएको छ । भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अध्यक्ष शाह अहिले राज्यसभा सदस्य हुनुहुन्छ । उहाँले पहिलो पटक लोकसभाका लागि उम्मेदवारी दिनु भएको हो । शाहले उम्मेदवारी दिनु भएको गान्धीनगर निर्वाचन क्षेत्रमा यसअघि भाजपाकै वरिष्ट नेता लालकृष्ण आडवाणीले निर्वाचन जित्नु भएको थियो ।
गृहमन्त्री राजनाथ सिंह, पञ्जाबका पूर्व मुख्यमन्त्री प्रकाशसिंह बादल, यातायात मन्त्री नितिन गड्करी, शिवसेना प्रमुख उद्धव ठाकरे, लोक जनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र भाजपाका राष्ट्रिय महासचिव राम लाल लगायतको उपस्थितिमा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको भाजपाका सचिव महेन्द्र पाण्डेले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गर्नुअघि उहाँले अहमदावादको नारायणपुरमा आयोजित वृहत चुनावी ¥यालीलाई सम्बोधन गर्नुभएको थियो । भारतमा आगामी अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ । -रासस/एएनआई
Add Comment