कोभीड संक्रमणको अनुभव: सानो सानो लापरवाहीले गर्दा ठुलो मोल चुकाउनु प¥यो : पीडिजी लायन बज्राचार्य

Post Views: 1
कोभीड संक्रमणको अनुभव: सानो सानो लापरवाहीले गर्दा ठुलो मोल चुकाउनु प¥यो : पीडिजी लायन बज्राचार्य
ADVERTISEMENT

देशमा कोरोनाको दोश्रो लहर आइसकेको थियो । त्यसबाट म पनि अछुतो हुन सकेन । पीसीआर परिक्षण गर्दा मलाई पोजेटिभ देखियो । दोश्रो लहर झन जोखिमको थियो, अस्पतालमा बेड पाउन गाह्रो आक्सिजन सिलेण्डरको कमी, यस्तो बेलामा महामारी रोग लागेछ ।
४१ दिन अस्पतालमा बसी, कोरोनासंग जुझ्दै बल्लतल्ल डिस्चार्ज भई म अहिले अक्सिजनका साथ घरमै आईसोलेशनमा छु । कोरोना संक्रमित भईसकेपछि ४ वटा अस्पतालमा बस्दा, मैले जे देखे, जे भोगे त्यस विषयमा मेरा केहि भोगाईका अनुभवहरु यहाँ सार्वजनिक गर्ने प्रयास गरिरहेको छु । मेरो भोगाई र अनुभवबाट कोरोना महामारीको यस्तो जटिल अवस्थामा हाम्रो देशको स्वास्थ्य सेवाहरुका विषयमा र देशका नेता भनाउदाहरुका कोरोना महामारीका लागि गरिएका हवादारी गफका सत्यता बुझ्न सक्नु हुने छ ।

एकैछिन हामी कोरोनाको पहिलो लहरको बारेमा कुरा गरौ । कोरोना र लकडाउन दुवै हाम्रो लागि नौलो र खतरनाक शब्द, एउटा महामारी रोग । अर्को दिन दिनै कठिन समय, धरै दिनसम्म यो विषयले सबैलाई अलमलमा पा¥यो र केहि महिनापछि देशमा धरै कुराको अभाव सिर्जना हुन थाल्यो । यस्तो अवस्थामा विश्वको सबैभन्दा ठुलो समाजसेवि संस्था लायन्स क्लब अन्र्तराष्ट्रियको जता आवश्यक त्यहा लायन्स भन्ने नारालाई आत्मसात गर्दै हामी लायन्स क्लबका सदस्यहरु अब चुप लागेर बस्नु हुदैन भनेर हामीले पहिलो सेवा सहयोग प्रहरी वृतमा गएर मास्क, सेनटाईजर, ग्लोभ, मिनरल वाटर लगायत वितरण गरेर शुरु गरेका थियौं । त्यसपछि अरु संघ सस्था संग मिलेर ४५ दिन सम्म बिहान बेलुका गरिब, मजदूरहरुलाई खाना खुवाउने कार्यक्रमको थालनि गरियो साथै रक्त अभाव हुन दिनु हुदैन भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको शुरुवात गरियो र आजसम्म पनि निरन्तर जारि नै छ ।

आफ्नै लायन्स हेल्थ सेन्टरबाट कोरोना सम्बन्धि जनचेतना मुलक कार्यक्रमको थालनि गर्दै माईकिङ्ग गर्नुका साथै पर्चा वितरण, मास्क सेनेटाईजर वितरण पनि गरियो । हामीले लकडाउनको अवधिमा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिएर चन्द्रनिगापुरको एउटा गाउमा रहेको स्वास्थ्य चोकीमा गएर पीपीई, मास्क, सेनेटाईजर, ग्लोभ र थर्मल गन सहयोग गरेका थियौ । लायन्स क्लोथ बैंक खोलि हामी भन्दा कम भाग्यसालीहरुलाई नया र ताजा लत्ताकपडा वितरण पनि गरियो । म आफै लिडरशिप ट्रेनर भएकोले जुम मार्फत अरु साथीहरुसंग मिलेर लिडशिप ट्रेनिङ्गहरुको आयोजना पनि गरियो र त्यसमा सहभागी लायन्स सदस्य र अन्य सहभागी साथीहरुलाई आर्थिक र भौतिक सहयोगको लागि अनुरोध गर्दा सबैले सहयोग गरे पछि माथि उल्लेखित कार्यक्रमहरु गर्न सकेको हो । विभिन्न लायन्स क्लब, डिष्ट्रिक्ट, मल्टिपल र लायन्स क्लब अन्र्तराष्ट्रियले स्वास्थ्य सामग्री, खाध्यान्नको ठुलै सहयोग गर्दै आइराखेको छ ।

देशमा कोरोनाको संक्रमित घट्दै गयो लकडाउन हट्यो, त्यसपछि सोशियल ग्यादरिङ्ग र मिटिङ्गमा सहभागी हुन थाले । साथीभाईसँग भेटघाट र रेष्टरा पनि जान थालियो, स्वास्थ्य मापदण्ड बिस्तारै बिर्सिन थालियो, एउटा मास्क भनेबिर्सिएन अरु सबै बिर्सिन थालियो । पहिला सेनेटाईजर संगै लिएर हिड्ने गरिएको थियो पछि विस्तारै पर्दैन जस्तो लाग्यो, खोप पनि पछि लगाउला भनेर लगाएन । रेष्टरामा खाना खादा मास्क निकाल्नै प¥यो, सानो ठाउमा एउटा टेबलमा सोशियल डिस्टेन्सको पालना हुने कुरा नै भएन । यस्तो सानो सानो लापरवाहीले गर्दा ठुलो मोल चुकाउनु प¥यो ।

देशमा कोरोनाको दोश्रो लहर आइसकेको थियो । यो महामारी झन जोखिम भएकोले हामी लायन्सहरुले फेरी सेवाको कार्यक्रम अगाडी बढाउनु प¥यो भनेर पहिलो चरणको बैठक रेष्टरामा गरियो । त्यहाँ सतर्कतासाथ सेवा गर्ने कुरा आयो । दोश्रो चरणको बैठक बस्न अगाडी मलाई अली अली ज्वरो आउन शुरु भएको थियो । मैले सिटामोल र तातो पानी खाएर ज्वरो अली कम भएको थियो, तर एक जना साथीलाई कोरोना पोजेटिभ भएको खबर सुनेपछि मलाई पनि गाह््रो भयो । ज्वरो निको भएन । शरीर सिथिल हुदै गएपछि डाक्टरलाई फोन गरेर अरु औषधी खाना थाले, त्यसपछि पनि निको नभए । पछि पीसीआर चेक गर्न गए । पीसीआर चेक गर्ने क्रममा अस्पतालमा मान्छेहरु धरैलाई दोश्रो लहरले गाह््रो भइ राखेको छ भन्दै हल्लाखल्ला गर्दै गर्दा सुनेपछि म झन झन नर्भस हुन थाले र पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सांस पनि फेर्न गाह््रो हुन थाल्यो । साथीहरुको सल्लाह अनुसार निजि अस्पतालमा गए । अपातकालिन वार्डमा आक्सिजन दिएर राखियो, एक्कै छिन पछि क्याबिनमा सारियो । भोलि पल्ट हाम्रो अस्पतालमा कोभीड वार्ड छैन, बन्दै छ र बिरामीलाई अन्तै लानु भने पछि दाजुभाई र लायन्स साथीहरुद्वारा अस्पतालको खोजि गर्न थालियो ।

टेकु अस्पताल, पाटन अस्पताल, पोलिस अस्पताल, विर, अल्का र नार्भिक अस्पतालमा बेड खोज्दा पनि कहिँ पाएन । पछि त्यहि पहिलो चोटीको अस्पतालमा कोभीड वार्ड बन्यो भन्दै मलाई त्यहि राखियो । अरु उपाय पनि थिएन, मेरो हालत सिथिल हुदै थियो, त्यही उपचार गरियो । मेरो आक्सिजन लेभल कम भएकोले हाई फ्लो आक्सिजन चाहिने भयो र बीपप मशिनबाट आक्सिजन दिन थालियो, सारै सास्ती हुने, पानी पनि खान नदिने, घाती खस खस हुने । तर आक्सिजन लेभल अलि हाई हुने । डाक्टरहरु कोभीडको मरिज भएको वार्डमा भित्र औउदै नआउने । सबै नर्सहरुले उपचार गर्नु हुन्थ्यो ।

म कमजोर हुदै गर्दा डाक्टरले आक्सिजनको स्टाक नभएका कारण र अनुभवी डाक्टरहरु पनि छैन भन्दै मेरो दाईलाई अर्को अस्पतालमा सार्नु भन्यो रे । त्यसपछि फेरी अस्पताल खोज्न थालियो । भक्तपुरको एउटा सरकारी अस्पतालमा आसीयुमा बेड पायो भनेर त्यहाँबाट लगियो ।

भत्तपुर जादा त्यहाँ आईसियुमा बेड खाली छैन अहिले, एक्कै छिनमा खाली हुन्छ भन्दै बाहिर तिरपालमा बेड र आक्सिजन व्यवस्था गर्दै राखियो । करिब ३ घण्टा बस्दा पनि न डाक्टर आए न नर्स नै आए । बेड र आक्सिजनको व्यवस्था पनि स्थानीय स्वयंम सेवक साथिहरुले गरेका थिए । बेड खाली नभएपछि साथीले अर्को निजि अस्पताल बी (नाम परिवर्तन गरिएको) मा लगियो जहाँको सुबिधा हेर्दा एक दम राम्रो थियो तर डाक्टर र नर्सहरुको कुराकानीले मलाई झस्कायो । नर्सहरु धरै काम गर्नु पर्ने, थाकी सक्यो भन्दै थिए । चाडो अर्की नर्सलाई हैण्डओभर गरेर घर जान पाए हुन्थ्यो जस्तो कुरा गर्दै थिए । यो सुनेर मेरो साथीलाई बोलाएर यहाँ राम्रो उपचार होला जस्तो छैन भनेर भन्दा साथीले यो राम्रो अस्पतालहो भन्दै, अर्को अस्पताल खोज्न गारो छ भनेर सम्झायो । मलाई झन झन गाह््रो हुदै थियो । आईसीयुमा अरु पनि बिरामीहरु थियो । एक जना म भन्दा सिकिस्त बिरामीलाई ल्याईयो, उहालाई भेन्टिलेटरबाट उपचार गरियो । करिब १ घण्टामा उहाको निधन भएको थाहा पाए ।

मलाई पनि भेन्टिलेटरबाट उपचार गर्ने कुरा गर्दै थिए तर अनायास आईसीयुमा भएको युवती एकदम सिकिस्त हुन थाल्यो । उहालाई भेन्टिलेटरबाट उपचार गर्न थालियो, उनको स्वास्थ्यमा सुधार भै राखेको थियो तर २ दिन पछि उहा पनि बित्नुभयो । एक जना दमको रोगि भएकी र कोरोनाले गर्दा निक्कै गाह््रो भएको बिरामी रहेछ, आईसीयुमा बस्न नै मानेन, बाचे पनि मरे पनि वार्ड मा जान्छु भनेर वार्ड मा नै गए । उहाको श्रीमान पनि कोरोनाले गर्दा वार्डमा रहेछन् । वहाँको भने पछि के भयो थाहा भएन । मैले पनि आट गरेर दाईलाइ र डाक्टरलाई कुनै पनि हालतमा भेन्टिलेटरबाट उपचार गर्दिन, मरे पनि मरिन्छ भन्दिए । पछि मलाई २ वटा ठाउँबाट आक्सिजन दिन थालियो, एउटा मास्कबाट, अर्को सानो पाईपबाट । । मेरो आक्सिजन लेभल अलि ठिक हुदै थियो, उपचार पनि राम्रो नै भैराखेको थियो, स्वस्थ्यमा क्रमिक सुधार हुदै थियो ।

अनायास मुख्य आक्सिजन लेभल तल हुन थाल्यो, बिरामीहरु आक्सिजन नपाए पछि डरले कराउन थाले, बाहिर पनि हल्लाखल्ला भए पछि दाई आईसीयुमा आयो, पछि भाई पनि आयो । डाक्टरले अर्को निजि अस्पताल लानु भन्यो, त्यबेला मेरो आक्सिजन लेभल ३८ मा झरिसकेको थियो रे, झन्डै मरेको । अझ अलि ढिलो भएको भए हामी आईसीयुको ६ जना मरिन्थ्यो होला । यो केश पोखरा अस्पतालको जस्तै थियो, जहाँ ७ बिरामीले ज्यान गुमाईसकेका थिए । बाहिर हल्ला नभएको मात्र हो । मैले सुने अनुसार एक जना बिरामी जो आईसीयुमा भेन्टिलेटरमा थियो, बित्यो रे ।
यहाँनिर सोच्नु पर्ने कुरा, किन नेपाल सरकारले कोभीड वार्डको अनुमति दियो??? जबकि ए भन्ने त्यस अस्पतालमा कोभीडको अनुभवी डाक्टरहरु उपचारको लागि छैन भने ? अस्पतालले आस्किजन सिलण्डर स्टाक राख्नु पर्ने हैन र ? कसैको जीवन संग खेलवाड गर्न पाउदैन ? हचुवाको तालमा बिरामीलाई उपचार गर्ने अधिकार कसैको छैन ?

अब मेरो प्रश्न यसको दोषी को ? अस्पताल कि सरकार ? अस्पतालले पहिला नै आक्सिजनको स्टाक राख्नु पर्ने हैन र ? यदि आक्सिजन छैन भने बिरामीलाई समयमा नै अरु अस्पतालमा किन नसारेको ? सरकारले खै अनुगमन गरेको अस्पतालमा ?
के आईसियुमा स्वास्थ्य मापदण्ड लागु गर्नु पर्दैन ? सफा सुघर हुनु पर्दैन ? । आईसीयु सफा सुघारमा ध्यान कसले पुराउने ? सरकारी अनुगमन खै ?

सी निजि अस्पताल (नाम परिवर्तन गरिएको) मा लगियो, वार्डको कुनामा बेड थपेर राखियो । त्यहाँ पनि पर्याप्त आक्सिजन छैन भन्न्ने थाहा पाएपछि फेरी अस्पताल खोज्न कार्य शुरुभयो । पाटन अस्पतालमा बेड छ भन्दै एम्बुलेन्समा राखेर पाटन लगियो तर त्यहाँ पुग्दा अपातकालिन कक्षमा एक दिनलाई मात्र आक्सिजन छ भने पछि फेरी (सी अस्पतालमा) आईसीयुमा राख्न अनुरोध गरियो र राखियो । त्यहाँ पनि डाक्टर भित्र नआउने, भर्खर पासआउट नर्सहरुले उपचार गर्ने । त्यस अस्पतालको गोदामलाई आईसीयुमा परिणत गरेको जस्तो देखिने । मेरो बेड संगै शौचालय थियो, मेरो बेड भएर बिरामीहरु शेचालय जान्थ्ये, फर्किदा कस्तो फोहोर भन्दै आउथ्ये । डाक्टर, नर्स देखी घर परिवार सबले टन्न खानु पर्छ, तरल झोल पदार्थ खानु पर्छ भन्थ्ये तर यस्तो वातावरणमा कसरि खाने जस्तो लाग्थ्यो, तैपनि मैले खाना र तरल झोल पदार्थ टन्न खाने गर्दथें । आफु हिड्न नसक्ने, जहिले शौचालय जानुपर्ने तनाव हुन्थ्यो ।
त्यहाँ पनि आँखै अगाडी २ जना बिरामीहरु उपचारको क्रममा निधन भयो । यसरि आफ्नै अगाडी धरै मान्छेहरु बित्दा आफु पनि माथि जाने क्रममा छु जस्तो लाग्यो । एम्बुलेन्समा अस्पतालखोजि गर्दा गर्दै मेरो शरीर सिथिल हुदै ३ दिनसम्म रिंगटा लागेको थियो ।

एक चोटी डाक्टर आउदा मैले डाक्टरलाई सोधे थिए, के म ठिक हुन्छ र भन्दा । डाक्टरले तपाई ठिक भयो भने मेरो ठुलो उपलब्धि हुन्छ र म बचाउन कोशिश गरि राखेको छु भन्दै गयो । यो कुराले मलाई सारै तनाब भयो । त्यहाँ पनिे आक्सिजन सिद्धिन लाग्यो बिरामीलाई अन्तै लानु भन्न थालियो । एउटा त आक्सिजनको कमि, राम्रो अस्पतालमा बेड पाउन गाह््रो त्यसमाथि व्यापार ब्यबसाय पनि सम्झन थाले, एक वर्ष देखी ठप्प, घर भाडा, अनि यो महामारी, आत्मबल घटेर झन सिथिल हुन थाले । अलि ठिक भै सकेको पनि गाह््रो अप्ठारो हुन थाल्यो । म अब मर्ने भए भनेर । घर परिवारलाई सबलाई मेरो चिन्ता हुन थाल्यो । घर नजिकै टेकु अस्पताल (सरकारी) मा बेड खाली छ कि भनेर दिनभरी त्यहि बसेर कुर्न थालियो । खाली भएको सूचना पाउना साथ टेकु अस्पताल लगियो ।

टेकु अस्पताल आउदा बेड खाली थिएन, पानी परेको रात थियो । टेकु अस्पतालमा कार्यरत डाक्टर अनुपले अंगालो हाल्दै बेड खाली भए पछि अपातकाल कक्षमा राखौला भन्दै आक्सिजन दिएर उपचार सुरु गर्नु भयो । मलाई ठिक ठाउमा आइएको जस्तो लाग्यो र आत्मबल बढ्न थाल्यो । करिब तिन घण्टा भूईमा सुतेर उपचार गरे पछि बल्लतल्ल अपातकालिन कक्षमा बेड पाईयो । त्यस बेलासम्म मलाई एकदम नै हाई फ्लो आक्सिजन दिनु परेको थियो रे मैले पछि थाहा पाए ।

मेरो आक्सिजन लेभल ठिक हुदै गर्दा मेरो शुगर टेस्ट गर्दा शुगर पनि हाई लेभलमा पुगेको देखियो । टेकु अस्पतालमा भर्ना हुदासम्म त्यतिका दिन अरु अस्पतालमा बस्दा धरै चोटी रगत निकालियो टेस्ट गरियो तर शुगर टेस्ट गरेको रहेन छ । शुगर टेस्ट किन नगरेको होला जस्तो लाग्यो । डाक्टरले रिपोर्ट किन नहेरेको ? धरै चोटी एक्सरे र ब्लड टेस्ट गरेकै थिऐ रिपोर्ट त आएको थियो । बिल बनाउने, पैसा लिने, रिपोर्ट अनुसार उपचार नगर्ने, यो कस्तो नियम हो ? किन स्वास्थ्यमा यति धरै लापरवाही ?

त्यसपछि टेकु अस्पतालको वार्डमा सारेर पनि उपचार गर्न थालियो सलाईन दिन थालियो । २ दिन मुखबाट खान दिएन, पछि मुख बाट खान दिए पनि मैले गुलियो भएको खाएन । इन्सुलिन दियर शुगर कन्ट्रोलमा ल्याउनु प¥यो । अहिले पनि इन्सुलिन लिनु परिरहेको छ । यति धरै लापरवाही किन स्वास्थ्य जस्तो सम्बेदनसिल क्षेत्रमा ? ।

अलि ठिक भए पछि सामाजिक संजालहरु हेर्न थाले, कुरै कुरामा आफन्त र साथीहरु बितेको थाहा पाउदा एकदम नराम्रो लाग्यो । देशका केहि नेताहरु पनि बितेको रहेछन् । कसैलाई पैसाले पनि बचाउन नसक्ने र कोहि पैसा नभएर पनि बितेका रहेछन् । निधन भएका सबैमा हार्दिक श्रदान्जली अर्पण गर्न चाहन्छु । एक जना साथीले मलाई फेसबुकमा गेटवैलसुन टेक क्यर भनेर हाल्दै गर्दा सबैले मेरो लागि प्रार्थना ग¥यो तर एक जनाले हार्दिक श्रदान्जली समेत लेखेको रहेछ शायद त्यसैले होला मेरो आयु झन बढ्यो । पछि आफ्नो स्टाटर्स हटाएको पाए ।

एउटा स्टाटर्स खुब घत लाग्यो र मन छोयो । यदि अस्पतालमा बिरामी भर्ना भई सके पछि आक्सिजन र औषधी नपाएर कोइ मर्छ भने त्यो हत्या हो यो सत्य कुरा हो किनकि यो कुरा मैले भोगेको छु । अर्कोतिर देशमा नेताहरु कुर्सि र शत्ताका खेलमा तानातान गरिरहेकाछन् । सरकारलाई बिरामीको केहि मतलब नै देखीएन । देशको माया, जनताको स्वास्थ्यको माया कुनै नेतामा देखीएन भाषण र गफ मात्र रहेछ ।
टेकु अस्पतालमा उपचार राम्रैसंग भयो, कमजोरीले गर्दा हिड्न गाह््रो थियो, तैपनि डिस्चार्ज भँए । अरु सिकिस्त बिरामीलाई बेडको आवश्यक हुन सक्छ भनेर मैले पनि घरमा नै आईसोलेशनमा बस्ने निर्णय गरे । उपचार राम्रो छ, तर बिरामीको चाप अनुसार डाक्टरहरु र बेडको कमि महसुस भयो । कोरोनाको तेश्रो लहर झन जोखिमपूर्ण छ र बालबालिकाले सतर्कता हुनु पर्छ पनि भन्ने अनि अर्कातिर बिधालय पनि खोल्ने भनिरहेका छन् ।

के अस्पतालले २० प्रतिशत बेड राखेको छ र ? सरकार हरेक अस्पतालमा निजि होश या सरकारी अनुगमन गर्नुस, स्वास्थ्य मापदण्डको अनुसार छ कि छैन भनेर ? । अबोध बालबालिकालाई खै खोप ? अरु देशमा लगाई सक्यो सरकार, हाम्रो पहल कहिले हुने ?
अहिले कोरोना घटेको कारण लकडाउनमा पीसीआर चेक कम गर्नु हो । असार महिना अयो अव कर उठाउनु प¥यो भनेर सरकार हतार नगर्नुस । सरकार जनतालाई र देशलाई माया गर्नुस नत्र हामी सबै जना आ–आफ्नो ठाउँबाट उत्रिन नपोरोस । हामीलाई हाम्रो नेपाल प्यारो छ, आफ्नो ठाउँ बिकास गर्न हामी पनि सक्छौ । हाम्रो नेपाल हाम्रो आफ्नो ठाउको नारा दिएर पार्टी खोल्न हामी पनि सक्छौ । जस्तै हाम्रो नेपाल हाम्रो काठमाडौँ । म काठमाडौँको भयकोले काठमाडौँ नारा राखेको हो । यदि तपाई पोखरा को हुनु हुन्छ भने हाम्रो नेपाल हाम्रो पोखरा वा यदि तपाई जनकपुर को हुनु हुन्छ भने हाम्रो नेपाल हाम्रो जनकपुर नारा हुन्छ । । रितले पहिला हाम्रो नेपाल अनि आफ्नो ठाउको नारा लेख्ने । आफ्नो ठाउँ आफै बनाउने भाषण, नारा दिन हामी पनि सक्छौ, त्यसैले अब त उठ्नुस सरकार, नेताज्यूहरु, स्वार्थ रहित काम गर्नुस, देश र जनतालाई माया गर्नुस । अस्पतालमा पर्याप्त आक्सिजन, खोप र औसधिको जोहो गर्नुस । यो बेला कुर्सि तानातान हैन, जनताको स्वास्थ्यको चिन्ता गर्नुस ।
अन्तमा म अस्पतालमा हुदा मेरो लागि प्रार्थना, माया, स्नेह, सहयोग गर्ने र आशिर्वाद दिने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT