विचार/अन्तर्वार्ता

इमान्दार, सक्षम र गतिशिल व्यक्ति अध्यक्ष हुनु पर्दछ : वसन्तमान सिंह अधिकारी, नेता राप्रपा

वसन्तमान सिंह अधिकारी राप्रपा भित्र बौद्धिक र दृष्टिकोण सहितका नेताको रुपमा परिचित अधिकारी प्रखर वक्ता समेत हुनुहुन्छ । कार्यकर्ता बिच मिलनसार नेताको रुपमा परिचित अधिकारीले राप्रपाले अंगाल्दै आएको हिन्दुराष्ट्र र संबैधानिक राजतन्त्रको दर्शन नेपालको लागि उपयुक्त भएको बताउनु हुन्छ । महाधिवेशनको तयारी गरिरहेको राप्रपाको अगामी नेतृत्वबारे गरिएको प्रश्नमा अधिकारीले पाको वा युवा भन्ने बहसतिर नलागि सक्षम र दुरदर्शी नेता पार्टी अध्यक्ष हुनु पर्ने बताउनु हुन्छ । देशमा अहिले देखिएका तमाम समस्याको कारण देशले अपनाएको गलत राजनीतिक प्रणालीका कारण उत्पन्न भएकोले देशका तमाम समस्या समाधान गर्न अहिलेको राजनीतिक प्रणाली नै बदल्नु पर्ने समेत अधिकारीको धारणा रहेको छ । प्रस्तुत छ यीनै बिषयको सेरोफेरोमा रहेर अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाँई राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता हुनुहुन्छ ,अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी कसरी अगाडी बढी रहेको छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टीको यही २०७८ कार्तिक महिनाको अन्तिम सात केन्द्रिय महाधिवेशन हुँदैछ । त्यसैले हामी महाधिवेशनको तयारीमा सक्रिय छौं । यति बेला साधारण सदस्य र सक्रिय सदस्यहरु बनाउने कार्य भईरहेको छ । भदौ लागेपछि वडा, गाउँ, नगरकमिटीको अधिवेशन गरेर भदौभित्रै जिल्ला अधिवेशन पनि गरीसक्नु पर्ने छ । यही अनुरुप महाधिवेशनलाई केन्द्रमा राख्दै संगठनका गतिविधि गरीरहेका छौं ।

तपाँईले भदौ महिना भरीमा जिल्ला अधिवेशन गरी सक्ने कार्यतालिका रहेको बताउनु भयो कोभिडको संक्रमण बढ्दो छ यस्तो अवस्थामा अधिवेशन सम्भव होला ?
अवश्य पनि तपाईले प्रश्नमा उठाउनु भए जस्तो कोभिडको कारण समस्या छ । बेलायतमै पनि पुन तेस्रो लहर आयो भन्छन । बेलायतमा भ्याक्सिन लगायकालाई पनि कोभिड—१९ धेरैमा देखियो भन्ने छ । कोभिडको यो बढ्दो प्रकोपको बिचमा हामीले महाधिवेशन गर्न सक्छौ कि सक्दैनो ? त्यो भने प्रश्न चिन्ह छ । यदि तेस्रो लहर आयो भने प्रत्येक तहका अधिवेशन रोक्नु पर्ने हुन्छ । यदि सामान्य अवस्था हुँदै गयो भने अधिवेशन गर्दछौं तर धेरै रिक्स लिएर अधिवेशन गर्ने भन्ने हुँदैन । रोक्नु पर्दछ । यद्यपी अहिले सम्म रोक्ने भन्ने निर्णय नभएकोले प्रकृया अगाडी बढिरहेको छ ।

महाधिवेशनबाट कुनै नयाँ निती र कार्यक्रम पारित गर्नु हुन्छ कि पुरानै नीति कार्यक्रम दोहोरीने अवस्था छ ?
सयम र परीस्थिति अनुरुप नीति र कार्यक्रमहरुमा परीवर्तन गर्नु पर्ने अवस्था हुन्छ । यदि जनतामा एकाकार भए र जनताको निम्ती काम गरिएन भने त्यसलाई जनताले स्वीकारदैनन । यति हुँदाहुँदै पनि पार्टीले आजसम्म अगाल्दै आएको मुल दर्शन वा दार्शनिक पक्ष भने हामीले परीवर्तन गर्दैनौं । हाम्रो पार्टीले संबैधानिक राजसंस्था र हिन्दुराष्ट्र मान्दछ । हाम्रो पार्टी यीनै दुईवटा पिल्लरमा उभिएको छ । यी दुईवटा खम्बा भने परीवर्तन गर्दैनौं । यी उद्देश्य प्राप्तीका निम्ती अपनाइने कार्यनितीमा भने कहाँ लचिलो हुने कहाँ कडा रुपले पेश हुने भनि समय र परीस्थिति अनुरुप कार्यनीति बनाएर जान्छौं । यद्यपी यी दुई मुख्य आदर्श भने हिजोका दिनमा पनि थियो । आज पनि छ र भोली पनि रहन्छ ।

महाधिवेशन भन्दा साथ नितीसँगै नेतृत्वको चयन पनि हुन्छ तपाँईहरुले अव पुरानै नेतृत्वलाई निरन्तरता दिनु हुन्छ कि नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नेतर्फ लाग्नु हुन्छ ?
अवश्य पनि पार्टी सहि तरीकाले अगाडी बढ्न संगठन,नीति र नेतृत्व सबै सही हुनु पर्दछ । कम्युनिष्टहरुले त लेलिनवादी संगठन भनेर भन्ने गरेका छन् । करीब करीव सबैको भनाई त्यही हो । अहिले रा.प्र.पामा तीन जना अध्यक्ष हुनुहुन्छ यो त अस्थाई बन्दोबस्त हो । दुईवटा पार्र्टी बिच एकता भएपछि तत्कालिन रुपमा नेतृत्व व्यवस्थापनको लागि यसो गरिएको हो । यो दिर्घकाल सम्मका लागि होइन । अब हुने महाधिवेशन पछि एकै जना अध्यक्ष बन्ने व्यवस्था हुन्छ । जहाँसम्म नयाँ पुस्ता वा पुरानो पुस्ता भन्ने छ । यो बिषय साथीहरुसँग सल्लाह गर्न त बाँकी नै छ । तर मलाई लाग्ने के हो भने उमेर भन्दा पनि सक्षम गतिशिलता र इमान्दारीता मुख्य बिषय हो । इमान्दार सक्षम र गतिशिल व्यक्ति अध्यक्ष हुनु पर्दछ ।

त्यस्तै नेताले शहरी चेतना र ग्रामीण चेतना दुवै बुझेको हुनु पर्दछ किनकी हाम्रो देश शहर र गाउँ मिलेर बनेको छ । त्यसैले नेतृत्वमा दुबै क्षमताको समिश्रण हुनु पर्दछ । हाम्रो पार्टीमा तीनजना अहिलेको अध्यक्षनै हुनुहुन्छ । युवासाथीहरु पनि नयाँ नेतृत्व भन्नु भएको छ । मलाई लाग्ने के हो भने उमेर भन्दा मुख्य कुरा सोचाई हो । पुरानो नेतृत्व भन्दा साथ यीनीहरु बुढा भए केही गर्न सक्दैनन युवा भए सब हुन्छ भन्ने पनि होइन । त्यस्तै युवाले केही गर्न सक्दैन पाकै व्यक्ति चाहिन्छ भन्ने पनि हुँदैन । विश्व र हाम्रै देशको नेतृत्व हेर्दा पनि उमेर मुख्य कुरा देखिदैन । हामीले उमेर भन्दा पनि क्षमता र दिर्घकालिन भिजन हेर्नु पर्दछ । जस्तो कि वि.पी कोईराला ६८ वर्षसम्म काँग्रेसको नेतृत्वमा हुनुहुन्थ्यो । गणेशमानले ७६ वर्षमा २०४६ सालका आन्दोलनको नेतृत्व गर्नु भयो । कृष्ण प्रसाद भट्टराई केयर टेकर सरकारको नेतृत्वमा हुनु हुदा ६ महिनामै संविधान ल्याउनु भयो । त्यसैले बुढाहरुले केही गर्न सक्दैन भन्ने हुँदैन । त्यस्तै अहिले विश्वमा ठुलाराष्ट्रहरुमा युवाहरुले पनि नेतृतव गरेका छन् । बेलायतका प्रम ५२ वर्षको हुनुहुन्छ । फिनल्याण्डमा ३४ वर्षकी युवती प्रम छन् । उनको मन्त्रीमण्डलमा दुईजना ३२ वर्षका छन् । क्यानाडामा ४२ वर्षका प्रम हुनुहुन्छ । त्यसैले पाका वा युवा भन्दा सक्षम र जनमुखी नेतृत्व हुनु पर्दछ ।

अलिक फरक प्रसँगतर्फ लागौं मुलुकको राजनीतिलाई कसरी विष्लेषण गर्नु हुन्छ ?
मुलुक एउटा कालो सुरुङ भित्र छिरेको छ । मुलुक अस्तव्यस्त छ । दुई तिहाईको कम्युनिष्ट सरकारले पनि देश चलाउन सकेन अब के गर्दा देश चल्दछ त भन्ने प्रश्न खडा भएको छ । अहिले नेपाली काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । तर तीन हप्तासम्म सरकारले पुर्णता पाउन सकेको छैन । मुलुक अस्तव्यस्त छ । भ्रष्टचार बढेको छ । भ्रष्टचारी माथि कारवाही छैन । पुर्व प्रम केपी ओलीले सम्पत्ति सुद्धिकरण,गुप्तचरदेखि सबै अंगआई आफ्नो मातहत ल्याउँदा पनि कसैलाई कारवाही गर्नु भएन । माओवादी क्यानटोनमेण्ट,वालुवाटार जग्गा प्रकरण ऐनसेल प्रकरण जस्ता धेरै भ्रष्टचार छन् । हत्या हिंसा बढेका छन् । बाढी पहिरोको प्रकोप त्यस्तै छ । विकासका नाममा जहाँ पायो त्यहाँ डोजर चलेका छन् । राजनीतिक स्थिरता छैन । यसरी मुलुक फेलियर स्टेट हुने खतरा छ ।

यही बिचमा एम.सी.सी आएको छ । यस्ले देशलाई व्याटल फिल्डमा लानेवाला छ । यो लागु गर्ने हो भने संसोधन गरेर नेपालको हितमा हुने गरी मात्र अगाडी बढाउनु पर्दछ । अमेरिकाले यो इन्डोप्यासीफिक रणनीति अन्तरगत हो भनेर भनेको छ । राम्ररी काम नगर्ने हो भने देश द्धन्द्धको केन्द्र बन्ने छ । चीनले पनि हेरीरहेको छ । अमेरिकी विदेश मन्त्री भारत आएर दलाई लामालाई भेटेका छन् । चीनको राष्ट्रपतिले ३० वर्ष पछि तिब्बतको भ्रमण गरेका छन् । यी सबै कुरा हेर्दा समयमै बुद्धि नपुराउने हो भने देशको स्थिति अफगानिस्तान र सिरीयाको जस्तो हुन बेर छैन । त्यसैले देश गम्भिर संकटमा छ । त्यसमा सुधार गर्नु पर्दछ । तर यहाँ त सुधार गर्दा प्रतिगमन भयो भनेर भन्छन् ।

अब कसरी सुधार गर्ने त ?
एम.सी.सीमा अमेरीकीहरुलाई बुझाएर त्यसलाई नेपाल अनुकुल हुनेगरी संशोधन गर्नु पर्दछ । तर मलाई लाग्ने त के हो भने यो संघीय गणतन्त्र भन्ने जुन छ यही खराबीको कारण हो । यो मेशिनमा जतिसुकै इमान्दार नेतृत्व ल्याएर राखिदिए पनि बिग्रन्छ । हाम्रो नेपाली माटो, नेपाली जनताको चाहना र नेपालको भुगोल सुहाउँदो व्यवस्था हुनु पर्दछ । यहाँ सबै अभ्यास भए तर सबै अभ्यास असफल भए । ती किन असफल भए भने यहाँको व्यवस्थानै ठिक छैन । यहाँ चुनाव र दल भन्दा माथि उठेको संस्था चाहिन्छ । जस्ले राष्ट्रिय अस्तित्व मजबुत बनाउँछ । त्यसका निम्ती संबैधानिक राजतन्त्र ल्याउनु पर्दछ । संवैधानिक राजसंस्था हिन्दु राष्ट्र अंगीकार गरे देशमा शान्ति र स्थीरता आउने छ । तर यसो भन्दा प्रतिगमन भन्छन । चाहिने संबैधानिक राजसंस्था र हिन्दु राष्ट्र नै हो ।

संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र चाहिन्छ भन्ने कुरा त संविधानसँग मेल खाँदैन नि ?
संविधान भनेको त परीवर्तन गर्न सकिन्छ । २००७ सालदेखि अहिलेसम्म कतिवटा संविधान फेरिए । यदि राष्ट्र र जनतालाई घाटा पर्दछ भने त्यो परिवर्तन गर्नु पर्दछ । शरीरको अंगमा क्यान्सर भए पछि त्यो त काटेर फाल्नु पर्दछ, मेरो शरीरको अंग काटीने भयो भनेर हुन्छ र ? फाल्नै पर्दछ । त्यस्तै हो । यो सिष्टम देशमा चल्न सक्दैन । यो फालेर नयाँ राष्ट्रिय सहमति गरेर अगाडी बढ्नु पर्दछ ।

संवैधानिक राजतन्त्र भन्नु भयो २५० वर्ष त राजसंस्था हेरेकै हो नि होइन र ?
२५० वर्षमा पनि विभिन्न चरण छन् । १०४ वर्ष त राणाले राजालाइनै कैदी जस्तो बनाएर राखेका थिए । केही वर्ष अर्थात आठ दश वर्ष महेन्द्र केही समय बिरेन्द्र र केही वर्ष ज्ञानेन्द्रले न सही रुपले अधिकार प्रयोग गरेका हुन । अध्यारो सुरुङमा पसेपछि अगाडी अध्यारो मात्र देखिन्छ । पछाडी उज्यालो छ भने त उज्यालोतिर फर्कनु प¥यो नि ।

तपाँईहरुको पार्टीले यो सरकारलाई समर्थन बिरोध के गर्दछ ?
गुण र दोषको आधारमा समर्थन र बिरोध गर्दछौं ।

-केशवराज अर्याल