मुख्य समाचार

नेपाली काँग्रसको आसन्न १४ औं महाधिवेशनको सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने युवा अभियानद्वारा चेतावनी

काठमाडौं । नेपाली काँग्रसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीत हुँदे महाधिवेशन सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने सवल कांग्रेस निर्माणका लागि युवा अभियानले चेतावनी दिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई संवोधन गरी लेखिएको सो ध्यानाकर्षण पत्रमा पार्टीको विधान र नियमावली अनुरूप न्यायपूर्ण ढङ्गले क्रियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनसन लगायतका गुनासाहरुको सम्वोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरिएको छ ।

अभियानले साउन १२ बाट वडा अधिवेशन सुरु भई भदौ १६–१९ मा सम्पन्न हुने भनिएको पार्टीको १४औँ महाधिवेशन अनिश्चित बन्न पुगेको विडम्बनापूर्ण परिस्थितिले पार्टीको गरिमामा ठुलो क्षति पुगेको निष्कर्ष निकालिएको छ ।

अभियानले महाधिवेशनको समयसीमाको अन्तीम क्षण पुगिसक्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रूप दिन नसक्नुले नेतृत्वको महाधिवेशन प्रतिको प्रतिबद्धता र नियतमाथी समेत प्रश्न उठ्न थालेको भन्दै ध्यानाकर्षण पत्रमा विभिन्न राजनीतिक दलबाट कांग्रेसमा समाहित साथीहरुलाई स्वागत गर्ने क्रममा कांग्रेसकै समर्थक, सदस्य वा शुभचिन्तक रहेका व्यक्तिहरुलाई नै कागजी रूपमा नवप्रवेसी बनाई हजारौ क्रियाशील सदस्यता वितरण गरिएका प्रमाणहरु बगे्रल्ती भेटिएको दाबी गरिएको छ ।

पत्रमा नेविसंघ तरुणदल लगायतका भातृ एवम् शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि बर्षौदेखि नगर्ने हो भने कांग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको उर्जा अभिप्रेरित गर्न नसकिने बताउदै अभियानले १४ औ महाधिवेशनको सुनिश्चितताका पक्षमा दबाब सिर्जना गर्न उठाइएका आवाजहरुको अविलम्व सम्बोधन हुने विश्वास व्यक्त गर्दै आफूहरुको माग पुरा नभए पार्टी केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयमा धर्ना, अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिएका छन् ।