मुख्य समाचार

अन्तरराष्ट्रिय नगरजस्तै देशभित्रकै नगरबाट पनि असल अभ्यास सिक्न सकिन्छ भनेर आन्तरिक सम्बन्ध बढाएका हौँ — मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सुदुरपश्चिम डडेल्धुरा जिल्लाको अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना भएको छ । साउन २६ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा (विपिन) ले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यसपछि भगिनी सम्बन्ध घोषणा पत्रमा दुवै नगर प्रमुखले हस्ताक्षर गरेर सार्वजनिक गरेका थियो । त्यस अवसरमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत तथा सदस्यहरु, कार्यपालिका सदस्यहरु, अमरगढी नगरकी उपप्रमुख संगीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायसहित अधिकारी सहभागी थिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ खण्ड (ट) को कानुनी व्यवस्थाबमोजिम काठमाडौँ महानगरले अन्तरपालिका भगिनी सम्बन्ध सम्बन्ध स्थापना गर्दै आएको छ । भगिनी सम्बन्धमा हस्ताक्षर तथा घोषणापछि महानगरको नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत अमरगढी पार्क निर्माणका लागि सम्झौता भयो । दुवै नगरका प्रमुखहरुले हस्ताक्षर गरेको उक्त सम्झौताबमोजिम अमरगढी नगरपालिकाको वडा नम्बर २ र ५ को भौगोलिक क्षेत्रमा अमरगढी पार्क निर्माण गर्न महानगरले १ करोड ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउनेछ । त्यहाँको ४ सय ५० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिनेछ ।

‘देशभित्रकै स्थानीय तहहरुका सफल र असल अभ्यास अनुकरणीय छन् । आपसी पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि सहकार्य गर्न सकिने अवस्था छ । यसले देशको समृद्धिका लागि ठूलो टेवा पुग्नेछ । त्यसैले हामी स्थानीय तहहरुकाविचमा भगिनी सम्बन्ध स्थापना गर्दै आएका छौँ ।’ देशभित्रकै अन्तरनगर भगिनी सम्बन्ध स्थापनामा महानगरको दृष्टिकोण राख्दै प्रमुख शाक्यले भने, ‘यस्ता सम्वन्धले स्थानीय उत्पादन तथा बजार व्यवस्थापन, मानवीयताको नगर निर्माण, आपसी हितका लागि अध्ययन तथा अवलोकन, मूर्त अमूर्त सांस्कृतिक, सम्पदा र पर्यटनको प्रवर्धनमार्फत साझा हित प्राप्त हुनेछ । आन्तरिक यो क्षमताको उच्चतम उपयोग गरेर समृद्धिमा पुग्ने आधार तयार गर्ने महानगरको सोच हो ।’

बडाकाजी अमरसिंह थापाले पश्चिमी क्षेत्रको एकीकरणका बेला निर्माण गरेको ऐतिहासिक अमरगढी किल्ला र त्यही किल्लाको नामबाट स्थापित नगरपालिकालाई काठमाडौँ महानगरसँगको सम्बन्धमा जोड्न पाउँदा म मेरा नगरबासी र जनप्रतिनिधिकातर्फबाट हर्ष प्रकट गर्न चाहन्छु । सम्झौतापछि अमरगढी नगरका प्रमुख ओझाले भने, ‘सहिद भीमदत्त पन्तको जन्ममूभि, प्रसिद्ध धार्मिक स्थल उग्रतारा रहेको अमरगढी धार्मिक तथा पर्यटकीय स्थल हो । महानगरसँगको सम्बन्धबाट यस्ता प्राचीन र पर्यटकीय ठाउँहरुको प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा राखेका छौँ । महानगरसँग सम्बन्ध स्थापना भइसकेपछि हामी विकास निर्माण र सेवा व्यवस्थापनका लागि थप उत्साहित भएका छौँ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, ‘जीवन्त सहरी आचरण निर्माणका लागि हाम्रा भोगाइ र अनुभव, सिकाइ पनि हुन् । सम्भावना र चुनौतीका विषयमा आपसी अन्तरक्रियाले मात्र पनि नयाँ योजनाका लागि आधार तयार गर्न सकिन्छ ।’ उनले भनिन, ‘परम्परागर चालचलन, संस्कृति र सम्पदा तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्धन, विकास र प्रचारप्रसारमा सहकार्य गरौँ ।’

०५३ सालमा देशभर घोषणा भएका १५ नगरपालिकामध्ये अमरगढी एक हो । डडेल्धुरा जिल्लाको सदरमुकाम वरिपरिका साविक ५ वटा (डोटी घटाल, सहस्रलिङ्ग, खलङ्गा, उग्रतारा र भूमिराज) गाउँ विकास समितिको भौगोलिक क्षेत्र गाभेर नगरपालिका बनाइएको हो ।

अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकीकरणको सिलसिलामा भएको हो । वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारी दाङमा गोर्खाली सैन्यसित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुगेको थियो । त्यसपछि यस भुभागको प्रशासकका रुपमा अमरसिंह थापा नियुक्त भए । यस क्षेत्रको संरक्षण र महाकाली पारीको भूभागमा विजय प्राप्त गर्न उनले डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा बिशाल ढुङ्गे किल्ला बनाए ।

नेपालको एकीकरणका लागि अमरसिंह थापाले निर्माण गरेको त्यही विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको हो । सुदुरपश्चिम प्रदेश, महाकाली अञ्चलमा पर्ने डडेल्धुरामा एउटा संसदीय निर्वाचन क्षेत्र छ । यही जिल्लाको सदरमुकाम अमरगढी नगरमा ११ वडा छन् ।