मुख्य समाचार

माधव नेपालको पार्टी एकीकृत समाजवादी र  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए । नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।

त्यस्तै निर्वाचन आयोगले महन्थ ठाकुरको नेतृत्वमा प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेको छ । जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर बनेको लोसपालाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए । ठाकुरको पार्टीको केन्द्रीय कार्यालय बबरमहल तोकिएको छ ।

सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुर्‍याएर दल विभाजन गर्नसकिने अध्यादेशअन्तर्गत जसपा फुटेर लोसपा र एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एस) दर्ता भएको हो ।