मुख्य समाचार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रदेशको नामाकरण नगरी बिदा

काठमाडौं। एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका छन् । आजै राईले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिएसँगै आजै आचार्यलाई बहुमत दलको नेताका हैसियतमा मुख्यमन्त्रीको सपथ गराउने तयारी छ ।

झन्डै चार वर्ष मुख्यमन्त्रीको कुर्सीमा बसेका राईले प्रदेशको नामाकरण गर्न भने सकेनन् । सातमध्ये पाँच प्रदेशले प्रदेशको नामाकरण गरिसकेका छन् । अब प्रदेश १ र २ बाँकी छन् ।

एमालेले नेतृत्व गरेको बागमतीमा डोरमणि पौडेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल नामाकरण गर्न सफल भएका थिए । एमालेका चारमध्ये शेरधन राई मात्र प्रदेशको नामाकरण गर्न असफल भएका हुन् । प्रदेश १ को नाम सगरमाथा, कोसी, लिम्बुवानमध्ये के राख्ने भन्ने अहिलेसम्म सहमति जुटिसकेको छैन ।-न्यूजकारखाना