मुख्य समाचार

नेकपा (एकीकृत समाजवादी) चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताएका छन् ।  नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टी चाँडै सरकारमा सहभागी हुने औपचारिक घोषणा पनि गरे । केही दिनभित्रै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारलाई पूर्णता दिने उनको भनाइ थियो । नयाँ पार्टीको नीतिबारे संक्षेपमा चर्चा गर्दै अध्यक्ष नेपालले नेपाल कृषिप्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दाबी पनि गरे ।

सुकुम्बासी समस्या समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सात विषयलाई आफ्नो पार्टीले महत्व दिने उनको भनाइ थियो । एकीकृत समाजवादी पार्टीले सरकारी जागिर खानेलाई पार्टीको सदस्यता वितरण नगर्ने नीति लिएको छ । पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक देखिए । उनले आफूहरूलाई पार्टीमा बस्नै नदिएको भन्दै पार्टी फुटेको दिन ओलीले बालकोटमा भोज गरेको आरोप पनि लगाए ।

उनले एमालेसँग पार्टी एकताकाे सम्भावना जीवितै रहेकाे पनि घाेषणा गरे । ‘एमालेसँग सधैंभरि एकताको ढोका खुलै हुने छ। एमालेमा विद्रोह गरेर आएमा एकता हुन्छ ’, उनले भने, ‘शत्रुताको बाटो छाडेर आए एकता हुन्छ।’-न्यूजकारखाना